जुम्लाको तातोपानीमा पर्यटक बढ्दै

फाइल तस्बीर
जुम्ला : कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्छ जर्मीगाउँ । छेउमा तीला नदी कलकल बगिरहेको छ । त्यही नदी किनारमा छ निरन्तर बगिरहने तातोपानीको धारा । जहाँ प्राय नुहाउनेहरूको भीड लाग्ने लाग्छ ।
हिउँदको कठ्यांग्रिदो जाडोमा बाहिरको तापक्रम माइनसमा भए पनि तातोपानीका धारामा नुहाउने र पोखरीमा डुबुल्की मार्नेलाई भने तातोपानीले आनन्द दिन्छ । पर्यटक बढेसँगै उनीहरूलाई सुविधा होस् भनेर दुईवटा धारा र पोखरी विस्तार गरिएको छ । ५ वटा धारामध्ये तीन वटा महिला र दुई वटा धारा पुरुषका लागि छुट्याइएको छ ।
यसले गर्दा पर्यटकलाई सजिलो भएको जुम्लाको गुठीचौर ४ का लक्ष्मण सुनार बबताउँछन् । तातोपानीले छाला तथा नसा सम्बन्धी रोग निको हुने विश्वासका साथ कर्णालीका विभिन्न जिल्ला र बाहिरबाट समेत नागरिक जुम्लाको तातोपानी पुग्ने गरेका छन् । यहाँको पानीमा राख्दा चाँदी कालो हुन्छ । जुन तातोपानीको विशेषता हो ।
तातोपानी धारा नजिकै लाछु ज्यूलो छ । बाबा चन्दननाथले यही ज्यूलोमा परीक्षण गरेर जुम्लामा मार्सी धान खेती विस्तार गरेको इतिहास छ । तातोपानीको लाछु ज्यूलो, तातोपानी धारा, गिडिदह लगायतका पर्यटकीय स्थलको प्रवद्र्धन गरी रोजगारीका अवसर सृजना गर्न जोड दिइने तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौंलागा बताउँछन् ।
तातोपानी समुद्र सतहदेखि २ हजार ६ सय मिटर उचाइमा छ । जुम्ला सदरमुकाम खलङ्गाबाट झन्डै ८ कोष पश्चिममा पर्ने तातोपानी पुग्ने पर्यटकले यहाँको कला संस्कृति, रहनसहन र जनजीविकाका सवालमा समेत चासो राख्ने गरेका छन् । तातोपानी वरपरको गाउँमा ठाडि भाका र देउडा सुन्न र बुझ्न पनि पाइन्छ ।
आन्तरिक पर्यटकलाई २० रुपैँया, बाह्यलाई ३० र विदेशी पर्यटकलाई १ सय शुल्क लिने गरिएको छ । तातोपानी धारामा नुहाउने र हेर्न पुग्नेहरूबाट वार्षिक १४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको धारा व्यवस्थापक लालचन्द्र चुनराले जानकारी दिए । तातोपानीको प्रचार भने हुनुपर्ने जति नभएको वरपरका बासिन्दा बताउँछन्
प्रतिक्रिया