फागुन २२ देखि रुकुम पश्चिममा मतदाता नामावली अद्यावधिक

फागुन २२ देखि रुकुम पश्चिममा मतदाता नामावली अद्यावधिक

रुकुम पश्चिम : रुकुम पश्चिममा फागुन २२ गते देखि चैत १ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ । चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उप निर्वाचन हुने भएकाले त्यसलाई लक्षित गर्दै रुकुम पश्चिममा पनि मतदाता नामावली अद्यावधिक कार्यत्रम सञ्चालन हुन लागेको हो ।

निर्वाचन आयोगबाट मतदाता नामावली अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार भए अनुसार जिल्लामा फागुन २२ गते देखि चैत १ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले बताए ।

जिल्ला प्रशासन कार्यालयमा आज आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले मतदाता नामावाली अद्यावधिक तथा दाबी विरोध कार्यक्रमलाई सफल बनाउन स्थानीय तहहरुले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । निर्वाचन कार्यालयले फागुन २२ गतेदेखि सम्बन्धीत वडा कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

त्यसपछि नामावलीमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीमा मृत्यु भएका, नागरिकता त्याग गरेका वा नागरिकता रद्ध भएका मतदाताको नामावली हटाउने, झुट्टा विवरण दिई नामावलीमा नाम समावेश भएको भए उजुरी दिने, दुई वा दुई भन्दा बढी मतदान स्थलमा नाम भएको भए आफुलाई नजिक पर्ने मतदान स्थलमा नाम सार्न लागि सम्बधित पालिकाका वडा कार्यालय मार्फत निवेदन दिन फागुन २२ गते देखि २८ गतेसम्मको समय तोकिएको छ ।

मतदाता नामावली अद्यावधिक गरेको नयाँ विवरण चैत १ गतेसम्म निर्वाचन आयोगमा पठाई सक्नुपर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकृत मल्लले बताए ।

उप निर्वाचन चितवन क्षेत्र नम्बर २ मा हुने भएपनि नेपाली नागरिक र मतदाता नामावलीमा नाम भएका र योग्यता पुगेका व्यक्तिले उम्मेदवारी दिन पाउने भएकाले निर्वाचन आयोगले देशभरमा मतदाता नामावली अद्यावधिक गर्न पत्राचार गरेको जिल्ला निर्वाचन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

प्रतिक्रिया