सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका हुन् । त्यसअघि मुख्यमन्त्री शाहले दलीय सहमति जुटाउने प्रयास जारी राखेका छन् ।
शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनेबारे दुई धार देखिएको थियो । शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने गरेर पहल गर्न माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पत्र लेखेको छ ।
चुनाव अघिको गठबन्धनबाट भट्ट सुदूरपश्चिमका मुख्यमन्त्रीका प्रबल दाबेदार थिए। तर चुनाव पछि गठबन्धन भत्किएपछि उनले मुख्यमन्त्री पाएनन् । तत्कालीन एमाले नेतृत्वको गठबन्धनको भागबण्डामा सुदूरपश्चिम एमालेको भागमा परेको थियो । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने अडान लिएको छ ।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल विश्वासको मत नपाउँदा २९ दिनमै पदमुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
शाहले एक महिनाभित्र संसदबाट विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार आइतबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका छन् ।
गठबन्धनकै दुई घटक माओवादी र उन्मुक्तिले विश्वासको मत नदिँदा कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार ढल्ने छ । राष्ट्रपति चुनावले केन्द्रमा राजनीतिक समिकरण उलटफेर भएको छ। आठ दलीय गठबन्धनसँग स्पष्ट बहुमत हुँदा पनि माओवादी र नागरिक उन्मुक्तिको अडानले शाह ढुक्क हुनसकेका छैनन् । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ साँसदको आवश्यकता पर्दछ ।
कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन्। प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १-१ सांसद छन् ।
प्रतिक्रिया