मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा ३ संगठन एकजुट
रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा २ प्यानलका विचमा प्रतिस्पर्धा हुने भएको छ । स्ववियू निर्वाचनका लागि क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीका विरुद्ध अन्य पार्टी निकट विद्यार्थी संगठन एकजुट भएका छन् । यसका अलावा सचिव पदमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।
अखिल क्रान्तिकारीले सबै पदमा एकल उम्मेदवारी दिएको छ । उसका विरुद्ध नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले उम्मेदवारी दिएका छन् । माओवादी निकट अखिल क्रान्तिकारीले अध्यक्षमा रमेश केसी, सचिवमा दुर्गाप्रसाद विक र कोषाध्यक्षमा तुलसा खनाललाई अघि सारेको छ ।
सदस्यहरुमा आशिष खत्री, यमराज डाँगी, बिष्णु ओली र लोकेन्द्र विकको उम्मेदवारी परेको छ । संयुक्त प्यानलबाट अध्यक्षमा नेविसंघका करिष्मा केसी, सचिवमा अनेरास्ववियूका दिनेश ओली र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका रुपा बस्नेतको उम्मेदवारी परेको मुसिकोट खलंगा बहुमुखी क्याम्पस स्ववियू निर्वाचन अधिकृत डम्बरबहादुर खड्काले बताए ।
अध्यक्ष सहित १ सदस्य नेविसंघले, सचिव सहित २ सदस्य अनेरास्ववियूले र कोषाध्यक्ष सहित १ सदस्यमा अखिल क्रान्तिकारीले उम्मेदवारी दिएको छ । संयुक्त प्यानलबाट सदस्यमा उष्मानी पुनमगर, सरस्वती सापकोटा, सेतु ओली र नवराज ओलीको उम्मेदवारी परेको छ । सचिवमा भने नवराज बुढाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन तालिका अनुसार २१ गते उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ । अव २४ गते दिउँसो २ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने छ भने सोही दिन साँझ ५ बजेसम्म जाँच गरेर निर्णय गर्दै उम्मेदवारको नामावली प्रकाशन गर्ने समयसीमा रहेको छ । २५ गते दिनभर उम्मेदवारी फिर्ताको समय रहेको छ ।
प्रतिक्रिया