सल्यानमा युवाको हत्या आरोपमा चार जना पक्राउ

सल्यानमा युवाको हत्या आरोपमा चार जना पक्राउ

सल्यान : सल्यानमा २४ वर्षीय एक युवाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भई त्रिवेणी गाउँपालिका ६ लुहाममा ग्रिल उद्योग सञ्चालन गर्दै आइरहेका २४ वर्षीय दिनेश विकको हत्या गरेको आरोपले प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

मृतकका बाबु मेरमान कामीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले त्रिवेणी गाउँपालिका ६ लुहाम बस्ने ४० वर्षीय अमरबहादुर घर्ती, ३० वर्षीय टीकाराम केसी, ३४ वर्षीय बुद्धिराम श्रीस र कालिकोट जिल्ला तिलागुफा नगरपालिका ७ घर भई हाल त्रिवेणी गाउँपालिका ६ लुहाम बजार बस्दै आएका ३० वर्षीय सुरेश जैसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताउनु भयो ।

आरोपित चौर जनालाई बजार आसपासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनालका अनुसार पक्राउमा परेका चार जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सल्यानबाट म्याद थप गराइ अनुसन्धान भइरहेको छ ।

लुहाम बजारमा जय विश्वकर्मा ग्रिल उद्योग सञ्चालन गरेर बस्दै आएका विक दुई दिनअघि त्रिवेणी गाउँपालिका ६ लुहाम बजार नजिकै खोलाको किनारमा बेहोस अवस्थामा फेला परेको थिए । थप उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया