सुर्खेतमा पिङ चुँडिँदा एक महिलाको मृत्यु, दुई घाइते
सुर्खेत : सुर्खेतको काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रालिद्वारा संचालित ट्रि हाउस फन पार्कमा पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको तुलसीपुर नगरपालिका -६ घर भएकी अन्दाजी ५० वर्षीय खगिसरा सुनार रहेको सुर्खेत प्रहरीले जनाएको छ ।
यस्तै पिङ खेलिरहेका अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर–३ कि २६ वर्षीया प्रतिमा गदाल र उनका छोरा दुई वर्षका प्रनिल गदाल रहेका छन् । उक्त घटना बुधबार साँझ घटेको प्रहरीले जनाएको छ ।
मृतक सुनारको शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । प्रहरीका अनुसार मृतक सुनार आफन्तसँग भेटघाटको लागि सुर्खेत आएकी थिइन् । उनी अवलोकनका लागि सहिद पार्क गएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले घाइतेको अवस्था सामान्य रहेको बताए।
उनका अनुसार पार्क सञ्चालक कर्ण मगरलाई पक्राउ गरेको छ । उनले भने,सोधपुछका लागि हामीले उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।
प्रतिक्रिया