राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ : थापा

राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ : थापा

काठमाडौँ :  नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उनले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताए । राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उनको भनाइ छ ।

लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ, उनले भने, यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ । त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ ।

नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकूल संविधानको व्याख्या नगर्न उनले आग्रह गरे ।

लामो समय पार्टीमा काम गर्नुभएका उहाँले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न, उनले भने ।

 

प्रतिक्रिया