सल्यानमा पढाई मेला संचालन

सल्यानमा पढाई मेला संचालन

सल्यान : सल्यानमा पढाई मेला संचालन भएको छ । बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधारका लागि सल्यानमा पढाइ मेला सञ्चालन गरिएको छ ।

शिक्षण सिकाई, पढाइ सामाग्री र अन्य शैक्षिक क्रियाकलापहरूलाई सुधार गर्ने विश्वासका साथ सल्यानको कपुरकोट गाउँपालिका -५ रिम स्थित जीवन ज्योति नमुना माध्यमिक विद्यालयमा पढाइ मेलाको आयोजना गरिएको हो । बालबालिकाहरूलाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायको सहयोग पु¥याउने लक्ष्यका साथ पढाइ मेला लागेको विद्यालयले जनाएको छ ।

पढाइ मेलाले वातावरण सृजना गर्न, गराउन, शैक्षिक सामग्री निमार्ण प्रयोग गर्न, गराउन, शिक्षण सिकाइ क्रियाकलापहरू व्यवस्थापन तथा सञ्चालन गर्न सहयोग गर्नुका साथै विद्यार्थीहरूको शारीरिक, मानसिक, संवेगात्मक विकास एवम् सुधार गर्न मद्दत पुग्ने प्रधानाध्यापक भूपाल साहुले बताए ।

विद्यार्थीहरूको बाहिरी ज्ञान सहितको पढाइलार्ई एक अर्कामा आदान प्रदान गर्ने अवसर पढाई मेलाले दिएको छ । पढाइ मेलाले विद्यालय तथा विद्यार्थीलाई थप ऊर्जा हौसला थप्ने र यस्तो कार्यक्रम सञ्चालन नभएका अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार गर्नुपर्ने साहुको भनाई छ ।

अभिभावकले बालबालिकासँग सँगै पढ्दाखेरि बालबालिकाको पढ्ने बानीको विकास हुने कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले बताए । पुनले पढाइ मेला नमुना पढाइ मात्र भएकाले यसलाई महत्त्वपूर्ण सिकाइका रुपमा ग्रहण गरी अभिभावकहरूले दैनिक समय तालिका बनाएर आफ्ना बालबालिकासँगै पढ्नु पर्ने धारणा राखे ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बालबालिका सँगसँगै पढ्दा आफ्ना बालबालिकाको पढाइका बारेमा अभिभावकहरूले जानकारी गर्ने बताए । भण्डारीले गाउँपालिका भित्र वृहत् रुपमा बालबालिकासँग अभिभावकहरूको पढाइ कार्यक्रम अभियान आगामी शैक्षिक सत्रबाट चलाउने बताए । अभियानले कपुरकोट गाउँपालिकाको शैक्षिक अवस्थालाई सुधार गर्न ठुलो सहयोग पुग्ने भण्डारीको भनाई छ ।

प्रतिक्रिया