प्रधानमन्त्रीले माओवादी धार बोक्न थाले कांग्रेसले साथ दिँदैन : रिजाल

प्रधानमन्त्रीले माओवादी धार बोक्न थाले कांग्रेसले साथ दिँदैन : रिजाल

काठमाडौँ :  नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्न नहुने बताउनुभएको छ । नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षीको रुपमा काम नगर्ने स्पष्ट पार्नुभएको हो । उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पार्नुभयो ।

शनिबार संचारकमीहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भुमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभयो । गठबन्धनका बीचमा भएको शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उहाँको भनाई छ । नेता रिजालले गठबन्धनका बीचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली काँग्रेस इमान्दार हुने बताउनुभयो ।

उहाँले– ‘हतार हतारमा पुरानो गठबन्धन छोडेर प्रधानमन्त्री बन्नका लागि नयाँ गठबन्धन प्रचण्डजीले बनाउँदाखेरी अब त्यो गठबन्धनको मुल कार्यभारलाई बोक्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्छ भन्ने भाव रह्यो । त्यस्तो राष्ट्रपति बन्यो भने प्रधानमन्त्रीले संविधानले दिएको भुमिका गर्न सक्दैन भन्ने प्रचण्डजीको मनमा संशय पनि, त्रास पनि पैदा भयो । त्यो संशय र त्रासबाट उहाँले अर्को राजनीतिक गठबन्धन खोजी गर्नुभयो । पुरानो गठबन्धनबाट फिर्ता हुने कोशिस गर्नुभयो । कांग्रेसलाई पनि त्यत्रो क्षतिबाट निस्किन, उम्किनलाई, न्युनिकरण गर्नका लागि नयाँ बाटोको खोजी गर्नुपर्ने हुन्थ्यो । दुईवटै स्वार्थ मिल्यो । हाम्रो पार्टीको पनि उहाँसँग स्वार्थ मिल्यो । त्यसअर्थमा उहाँलाई हामीले समर्थन गर्यौँ । उहाँको समर्थनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् ।’

रिजालले भने, ‘तर हामी सबैले बुझ्नुपर्ने कुरा के हो भन्दा रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर गएर यो गठबन्धनको राजनीतिको साक्षीको रुपमा, यो गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्न । ६० वर्षभन्दा लामो राजनीति गरेको व्यक्तिले संविधानभन्दा बाहिर गएर जीवनको यो समयमा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । त्यसो उहाँले गर्नुहुने छैन । तर एउटा कुरा प्रधानमन्त्रीजीलाई मेरो सुझाव छ, प्रधानमन्त्रीले उहाँलाई अब यो गठबन्धनका बीचमा भएका शर्तहरुलाई जिम्मा लिएर उहाँले राष्ट्रपतिको भुमिका गर्नुपर्छ भन्ने सोच्नुभयो भने त्यो भुमिका उहाँले गर्ने होइन । त्यो भुमिका पार्टीले गर्छ । पार्टीको सभापतिले गर्नुहुन्छ । नेपाली कांग्रेस पार्टीले गर्छ । त्यो भुमिकामा नेपाली काँग्रेस इमान्दार भएर बस्नुपर्छ भन्ने लाग्छ मलाई । त्यो भुमिकामा कांग्रेस इमान्दार हुन्छ ।’

उनले राष्ट्रपति पौडेल गठबन्धनको परिधिभित्र नबस्ने पनि बताउनुभयो । पौडेल आफ्नो पूर्व पार्टी नेपाली कांग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पारे । संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भुमिका नखेल्ने उनले विश्वास व्यक्त गर्नुभयो ।

रिजालले भने – ‘सुयोग्य व्यक्ति राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको छ । यो संविधानलाई पूर्ण रुपमा आत्मसात गरेको मान्छे । यो संविधानभन्दा बाहिर रत्ति पनि विचार नराख्ने मान्छे समकालिन राजनीतिमा अरु कोही देखेको छैन । रामचन्द्र पौडेलजति संविधानकाप्रति प्रतिवद्ध कुनैपनि पार्टीमा अर्को नेता देखेको छैन । रामचन्द्र पौडेलले संविधानको भावनाभन्दा बाहिर गएर राष्ट्रपतिको भुमिका गर्नुहोला भन्ने मलाई लाग्दैन ।’

नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभूमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा कांग्रेसले साथ दिन नसक्ने चेतावनी दिनुभयो । उनले माओवादी केन्द्रका नेताहरुलाई जोखिम पार्नु नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालीन माओवादी पार्टीको प्रतिवद्धता रहेको बताउनुभयो । माओवादी केन्द्र वैचारिक रुपमा अन्य माओवादी घटकहरुसँग एक भएको खण्डमा नेपाली कांग्रेस पनि संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा उभिने बताउनुभयो । उनले प्रधानमन्त्री दाहाल कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमति अनुरुप हिँडेमा कांग्रेसबाट धोका नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रचण्डजीले जुन बाटो, जुन मुलधार गिरिजाप्रसाद कोइरालासँग, सात राजनीतिक दलसँग निर्माण गर्नुभएको हो, यो संविधानले बोकेको बाटो हो । त्यो बाटोमा रहनुभयो भने कांग्रेसबाट धोका हुन्न । त्यो बाटोमा रहनुभएन, र अहिले पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि हिजोका माओवादी पृष्ठभुमिका नेताहरु एक ठाउँमा उभिएर, हिजोको माओवादी राजनीतिलाई बोक्नुपर्छ भन्ने बाटोमा जानुभयो भने प्रधानमन्त्रीको त्यो राजनीति दूरदर्शी ठहर्ने छैन ।’

रिजालले भन्नुभयो– ‘म स्वीकार गर्छु जोखिम छ माओवादीका नेताहरुलाई । त्यो जोखिममा उहाँहरुलाई पार्नुहुँदैन । जोखिममा पार्नुहुँदैन भन्ने साझा हाम्रो समझदारी हो । शान्ति प्रक्रियाको समझदारी हो । हिजोका सात दल र माओवादी सबैका प्रतिवद्धता छ । तर माओवादी राजनीतिक पृष्ठभूमिका सबै मिलेर एउटा नयाँ राजनीति शुरु गर्नुपर्छ र त्यही राजनीतिलाई अहिलेको सरकारले बोक्नुपर्छ भन्नुभयो भने उहाँलाई बिस्तारै कांग्रेसले नचाहँदा नचाहँदै पनि कांग्रेसले हिजोको संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा सँगै उभिने बाध्यतामा पुरयाइदिनुहोला । त्यस्तो बाध्यतामा पुर्याइदिनुभयो भने उहाँलाई त्यसबेला राष्ट्रपति पनि पराइजस्तो लाग्न थाल्छ ।’

उहाँले भन्नुभयो, ‘म भन्छु राष्ट्रपतिको कारणले, नेपाली कांग्रेसका कारणले होइनकि प्रधानमन्त्रीजीले नै अहिलेको आफ्नो राजनीतिलाई बालुवाटारको चकाचकबाट होइनकि उहाँले सहमति गरेको राजनीतिबाट, उहाँले निर्माण गरेको मुलधारको राजनीतिबाट, गिरिजाप्रसाद कोइराला सँगसँगै हस्ताक्षर गरेको राजनीतिबाट, अहिले काँग्रेसको सभापतिसँग बनाएको राजनीतिक धारबाट हिँड्नुभयो भने उहाँलाई धोका हुँदैन । मुलुकलाई पनि धोका हुन्न । अस्थिरता पनि हुन्न मुलुकमा । अनि साँचो अर्थमा समृद्धिको यात्रा शुरु हुनसक्छ ।’

नेता रिजालले प्रधानमन्त्री दाहालले २०५२ सालमा शुरु भएको सशस्त्र बिद्रोहलाई जनयुद्ध दिवसको रुपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको समेत बताउनुभयो ।-न्युज एजेन्सी नेपाल

प्रतिक्रिया