अस्पतालमा छैन ब्लड बैंक

अस्पतालमा छैन ब्लड बैंक

जाजरकोट :  जिल्ला अस्पताल जाजरकोटमा ब्लड बैंक नहुँदा उपचारार्थ भर्ना भएका बिरामीलाई रगत चाहिएको अवस्थामा सेना र प्रहरीको भर पर्नुपर्ने भएको छ ।

जिल्ला अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुनु र रगत आवश्यक परे सुरक्षाकर्मीलाई खबर गर्नुपर्ने अवस्था रहेको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कडेलका अनुसार बिरामीलाई रगत चाहिएको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीको रगतको भर पर्नुपर्ने बाध्यता छ ।

पछिल्लो साता मात्रै नलगाड नगरपालिका –२ डाँडागाउँकी ३२ वर्षीया पशुपति गिरीलाई आकस्मिक रगत चडाउनु पर्ने भएपछि रक्त समूह मिल्ने अस्पताल वरिपरिका सबैलाई आग्रह गरियो । तर रक्तदानका लागि कोही पनि तयार नभएपछि अन्तिम अवस्थामा प्रहरी जवानबाट रगत पूर्ति गर्नुपरेको बिरामीका आफन्त बताउँछन् । उनीहरुका अनुसार रगत आवश्यक पर्नेबित्तिकै कोही तयार नभएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले नेपाल प्रहरीलाई खबर गर्दा बिरामीसँग रक्त समूह मिल्ने प्रहरी आएर रगत दिएका थिए ।

जाजरकोटमा यसपटक मात्रै हैन, वर्षेनि अस्पतालमा आवश्यक रगत जिल्लाकै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूले उपलब्ध गराउँदै आएका छन् । अस्पतालमा रगत आवश्यक परेका बिरामीलाई सबै जिल्लामा कार्यरत सुरक्षाकर्मीहरू बाटै उपलब्ध गराइएको स्वास्थ्य कार्यालयका प्रमुख कडेलले बताउनुभयो । अस्पतालको रगत व्यवस्थापनको भरपर्दो माध्यम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी भएको उहाँको भनाई छ ।

अस्पतालमा ब्लड बैंक नभएका कारण रगत संकलन गर्न नसकिने भएकाले अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई रगत आवश्यक परेमा तत्कालै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरी आवश्यक रगत पूर्ति गर्नुपर्ने अवस्था रहेको कडेल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ’बिरामीलाई रगत अभाव हुँदा अस्पतालले सेना र प्रहरीलाई ब्लड बैंकको रुपमा लिनु हाम्रो बाध्यता छ । बिरामीलाई आवश्यक पर्ने रगत पूर्तिको एक मात्र उपाय जिल्लामा कार्यरत सुरक्षाकर्मी मात्रै बनेका छन् ।’

जिल्लाका सात वटै पालिकाले बजेटको व्यवस्था गर्ने र अस्पतालले ब्लड बैंक सञ्चालन गर्ने एक बर्ष पहिले जिल्ला प्रशासन कार्यालयमा निर्णय समेत भएको थियो । यहाँका स्थानीय तहले चासोका रुपमा नहेर्दा ब्लडका लागि विरामीहरुले निकै दुःख भोग्नु परेको छ ।

प्रतिक्रिया