विद्यालयबाट घर फर्किने क्रममा एक बालकको मृत्यु

विद्यालयबाट घर फर्किने क्रममा एक बालकको मृत्यु

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किने क्रममा बिहिबार आठबीसकोट नगरपालिका वडा नम्बर ११ गोइरीका महेन्द्र परियारका ९ वर्षिय छोरा दिपरोशन परियारको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

वडामै रहेको बालकल्याण माध्यमिक विद्यालयमा कक्षा २ मा अध्यनरत दिपरोशनको घर फर्किने क्रममा घर देखि ३ सय मिटर नजिकै गोरेटोबाटो भन्दा अन्दाजी ६०र७० मिटर माथिबाट खसेको ढुंगाले टाउकोमा लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताउनुभयो ।

घटनाको बारेमा जानकारी आएपछि आठबीसकोट इलाका प्रहरी कार्यालयबाट प्रहरी बरिष्ठ हवल्दार बसन्ती गिरी नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा मृतकको शव घरमा ल्याइसकेको प्रहरीले जनाएको छ । ढुंगा कसले खसायो वा कसरी खस्यो भनेर नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया