साबिककै मन्त्रालय पाएमात्रै सरकारमा जाने रास्वपाको अडान

साबिककै मन्त्रालय पाएमात्रै सरकारमा जाने रास्वपाको अडान

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि ‘साबिकका मन्त्रालयहरू पाउनुपर्ने’ शर्त अघि सारेको छ । यसअघि सरकारमा जाँदा पाएका तीन मन्त्रालयहरूमा उसले दाबी गरेको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि सहभागी रहेको रास्वपाले गृह मन्त्रालयसहित शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय पनि पाएको थियो । साथै, स्वास्थ्य राज्यमन्त्री पनि पार्टीको भागमा परेको थियो । फेरि पनि तीनै मन्त्रालय पाउने शर्तमा मात्रै पार्टी सरकारमा जाने ढोका खुल्न सक्ने प्रवक्ता डा। मुकुल ढकालले बताउनुभयो ।

‘यदि हामीले पहिले पाएको मन्त्रालयमा कुनै तलमाथि हुन्छ भने हामी सरकारमा सहभागी हुन सक्दैनौं,’ डा. ढकालले भन्नुभयो । तर, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय आफ्नै पार्टीसँग राख्ने तयारी गर्नुभएको छ । अहिले सरकारमा भौतिक योजनामन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृहमा सार्ने उनको योजना छ । प्रवक्ता ढकालले यस विषयमा आफूहरूलाई कुनै आधिकारिक जानकारी नरहेको बताउनुभयो ।

‘हाम्रो न्यूनतम शर्तका विषयमा प्रधानमन्त्रीज्यू जानकार नै हुनुहुन्छ । संसदको चौथो शक्ति भएका हिसाबले पनि भागबन्डामा हामी यति डिजर्भ गर्छौं भन्ने हो,’ उहाँले भन्नुभयो ।

मन्त्रालय भागबन्डा टुंग्याउन आज गठबन्धन बैठक बस्दैछ । रास्वपा यो बैठकमा सहभागी नहुने डा. ढकालले संकेत गर्नुभयो । ‘हामी सरकारलाई विश्वासको मत दिए पनि अहिलेको सत्तारुढ गठबन्धनमा छैनौं । त्यही भएर उपचुनावमा कसैसँग तालमेल नगरी आफैंले उम्मेदवार दिने निर्णय लिइसकेका छौं । गठबन्धनको बैठकबारे हामीलाई जानकारी आएको छैन,’ उहाँले भन्नुभयो ।

यदि गठबन्धनको बैठकमा बोलाइयो भने पार्टीले आवश्यक निर्णय लिने उहाँको भनाई छ । ‘कसले बोलाउँछ भन्नेमा पनि भर पर्छ । यदि प्रधानमन्त्रीबाटै आग्रह भयो भने जान पनि सकिएला । तर, सरकारमा जाने सवालमा चाहीँ हामी आफ्नो अडानमा दृढ छौं,’ उहाँले भन्नुभयो ।

रास्वपाले सरकारमा जाने शर्तका रूपमा केही सैद्धान्तिक विषयहरू पनि उठाएका छ । यसअघि आफ्नो पार्टीका तर्फबाट सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरिएका एजेन्डाहरूलाई निरन्तरता दिनुपर्ने अडान पार्टीको छ ।

‘सरकारले फेरि अर्को न्यूनतम साझा कार्यक्रम बनाउने तयारी गरेको कुराहरू आइरहेका छन् । यदि त्यसमा हाम्रा नीति र एजेन्डाहरूलाई स्थान दिइन्छ भनेमात्रै सरकारमा जाने हो,’ उहाँले भन्नुभयो ।

यदि प्रधानमन्त्रीले रास्वपाका शर्तहरू मानेर साबिककै मन्त्रालयहरू दिन तयार भए गृहमा को जान्छ त रु डा। ढकालले यस विषयमा पछि पार्टीमा छलफल हुने बताउनुभयो । ‘यसमा विभिन्न विकल्प हुन सक्छन् । उपचुनावपछि सभापतिज्यू नै जाने कुरामा द्वीविधा भएन । त्यसभन्दा अगाडि गृह प्रधानमन्त्रीसँगै राख्ने वा पार्टीको अर्को नेतालाई अस्थायीरूपमा पठाउन सकिन्छ । तर, सुरूमा त उहाँहरू साविकका मन्त्रालय दिन तयार हुनुपर्यो ।’

प्रतिक्रिया