दार्मामा ‘एक घर एक धारा’ जडान

दार्मामा ‘एक घर एक धारा’ जडान

सल्यान – खानेपानीको अभाव झेलेका दार्मा गाउँपालिका ३ का स्थानीयको लागि लिफ्ट प्रविधिको प्रयोग गरेर एक घर, एक धारा सञ्चालनमा आएको छ । पानीका मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार झेल्दै आएका फारुलाचौरका १४०, दार्मा ५ का ६ , मालिकाका ३८ र मलिक्चाका ८० घरधुरीमा घर घर जडान गरिएको छ ।

घरघरमा खानेपानी धारा आएसँगै वर्षौँदेखि खानेपानीको समस्याबाट स्थानीयले मुक्ति पाएका छन् । स्थानीयको समस्यालाई मध्यनजर गर्दै दार्मा गाउँपालिकाको एक करोड, नेपाल रेडक्रस सोसाइटीको ३४ लाख ६० हजार र १० लाख बराबरको जनश्रमदान गरी १ करोड ४८ लाख ६० हजारको लागतमा तीन खानेपानी योजना सम्पन्न गरिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो । पालिकाको एक घर एक धाराको नीति र स्थानीयलाई स्वच्छ खानेपानीको पहुँच भित्र ल्याउन एकै पटक ३२४ घरमा खानेपानी विस्तार गरिएको उहाँको भनाई छ ।

घण्टौ हिँडेर कुवा र मूलको पानीको पानी प्रयोग गर्दै आएकोमा अहिले गाउँपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गरेर घर घरमा निर्माण भएपछि दैनिक जीवनमा सहजता आएको स्थानीय विमला रोकायले बताउनु भयो । खानेपानी लिन सामुदायिक धारा र कुवामा जानु पर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुने गरेको बताउँदै अहिले घर घरमा खानेपानीको धारा निर्माण हुँदा लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाई छ ।

खानेपानीको अभाव झेल्दै आएका स्थानीयका लागि घर घरमा धारामा पानी आउनु स्वर्ग पुगेजस्तै भएको अर्का स्थानीय तोला बुढाथोकीको भनाई छ । अब खानेपानीको लागि गर्नु पर्ने दुःखको अन्त्य भएकोमा खुसी लागेको बुढाथोकीको भनाई छ । उहाँले भन्नु भयो ‘समयको बचत मात्र भएको छैन, पिउन सरसफाइमा सहजता हुनुका साथै करेसाबारीमा सिचाई समेत हुने गरेको छ ।’ सबै मिलेर पानीका मुहान र धारा संरक्षण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको धारासम्म जानु पर्ने बाध्यता हटेको शेर बहादुर सुनारले बताउनु भयो । उहाँले भन्नु भयो ‘घरघरमै धारा जडान भएर पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ । आँगनमै पानीको पहुँच पुगे पनि स्थानीयवासी हर्षित भएका छौँ ।’ -सल्यानटुडे

प्रतिक्रिया