मन्त्रिमण्डल आजै विस्तार गरेर शपथ गराउने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

मन्त्रिमण्डल आजै विस्तार गरेर शपथ गराउने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ पनि आजै गर्ने तयारीमा आफू रहेको बताउनुभएको छ । बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सकभर आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने प्रयास भइरहेको बताउनुभएको हो ।
‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’, उनले भने, ‘यदि आज सकिएन भने पनि भोलि बिहान होला, काम त हाम्रो सकिएको छ ।’ उनले एक दुई वटा मन्त्रालय मिलाउन बाँकी भए पनि अरू टुङ्गिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पनि बताउनुभयो । ‘मलाई विश्वास छ अव राजनीतिक स्थायित्वले पनि अव नयाँ आधार प्राप्त गर्नेछ, मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर जाने नै हो त्यसका लागि म पुरै तागत लगाउँछु ।’ प्रधानमन्त्रीले आफू चितवनवासी भएको नाताले चितवनको विकासमा आफू लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया