अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैन : मन्त्री अब्दुल खान

अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैन : मन्त्री अब्दुल खान

काठमाण्डौ –  खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताउनुभएको छ ।

शुक्रवार आज सिंहदरबारभित्र ४ ठाउँमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसके पनि राम्रो काम गरेको दाबी गर्नुभयो ।

उहाँले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम सुरु गरेको बताउनु भयो ।

उहाँले अब छिट्टै नै विभिन्न सार्वजनिक स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका ठाउँमा सार्वजनिक धारा राख्ने बताउनु भयो । उहाँले मन्त्रालयका विभिन्न समस्याका कारण अझै पनि आफूले चाहेको गतिमा काम गर्न नसकेको बताउनु भयो ।

मन्त्री खानले बोतल र जारमा महँगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गर्नुभयो । उहाँले देशका हरेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताउनु भयो ।

शुक्रवार खानेपानी मन्त्रालय, काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा निःशुल्क रुपमा सेवा पाउनेगरी स्वच्छ खानेपानी धाराको उद्घाटन भएको हो ।

प्रतिक्रिया