माओवादीले एमालेको साथ छाडेर कांग्रेससँग सम्झौता गर्ने तयारी

माओवादीले एमालेको साथ छाडेर कांग्रेससँग सम्झौता गर्ने तयारी

 

काठमाडौँ – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक शुक्रबार बसेको छ । शुक्रबार दिउँसो ३ बजे कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिँदैछन्।

त्यसैलाई लक्षित गरेर माओवादी संसदीय दलको बैठक बसेको हो । ११ बजेबाट सुरु भएको बैठक सकिएको छ। बैठकमा अहिलेलाई विश्वासको मत लिएर जाने र त्यसपछि मात्रै सरकारबारे निर्णय गर्ने कुरा भएको छ ।

माओवादी संसदीय दलका सचेतक रणसिंह परियारले अहिले विश्वासको मत लिएर जाने र मुल रुपमा केन्द्रमा भएको गठबन्धनलाई आधार मानेर नेपाली कांग्रेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा भएको बताउनुभयो ।

‘हामीले मत सबै दल सँग माग्ने निर्णय गरेका छौँ। केन्द्रको पार्टीको निर्णय, निर्देशन र केन्द्रको गठबन्धनको आधारमा मत माग्ने मौखिक निर्णय भएको छ, उहाँले भन्नुभयो, एमालेसँग पनि मत माग्ने। तर, अपौचारिक रुपमा दलीय निर्णय गरेर अगाडि बढ्ने सम्भावना देखिएन। अब औपचारिक रुपमा कांग्रेससँग सम्झौताका लागि अगाडि बढ्ने हो ।’

बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, माओवादी प्रदेश इञ्चार्ज कालीबहादुर मल्ल सहभागी हुनुहुन्थ्यो । परियारले औपचारिक रुपमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा अब नरहेको स्पष्ट पार्नुभयो ।

यसअघि एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बन्नुभएको थियो । केन्द्रमा चुनावी गठबन्धन ब्युँतिएपछि प्रदेशमा पनि त्यही अनुसारको सत्ता सहकार्य हुने करिब निश्चित जस्तै देखिएको छ ।

यता नेपाली कांग्रेसले अहिलेसम्म कुनै निर्णय गरेको छैन। औपचारिक निर्णयका लागि यतिबेला कांग्रेस संसदीय दलको बैठक जारी छ । एमालेले भने कांग्रेसको निर्णयलाई पर्खेको छ ।

प्रतिक्रिया