डिपिआरमै अल्झियो नलगाड हाईड्रोपावर
जाजरकोट – देशकै गौरवको आयोजना मानिएको नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ६ वर्ष वित्दा पनि पुरा हुन सकेको छैन । डिपिआरको काम अष्ट्रेलियन कम्पनी स्मेक, अमेरिकन एम.डब्लु.एच र नेपालको उदय जेभीले संयुक्त रुपमा गरिरहेका छन् ।
सन् २०१६ मैै ३१ महिनामा डिपिआरको काम सक्ने गरी नलगाड जलविद्युत कम्पनी र सम्वद्ध परामर्शदाता कम्पनीबीच सम्झौता भएको थियो । यसअघि डिपिआरकर्ताको मागअनुसार अगष्ट २०१९ मा पहिलोपटक तीन महिना र अगष्टदेखि मे २०२० सम्म ९ महिना दोस्रोपटक डिपिआरको समयावधि थपिएको थियो । थपिएको समयावधि सकिएपनि अझै डिपिआर पुरा हुन सकेको छैन् । डिपिआर नभएका कारण नलगाड जलविद्युत आयोजनाका अन्य गतिविधीहरु अघि बढ्न नसकेको इन्जिनियर पदमबहादुर थापाले बताउनुभयो ।
२०६९ साल देखि नलगाड हाईड्रोपावर निर्माणका लागि मन्त्रिपरिषदमा छलफल भएको थियो । इन्जिनियर थापाका अनुसार फिल्डको काम सकिएको छ । सर्भे, सुरुङ्ग टेस्ट, पावर हाउसमा सुरुङ्ग निर्माण भईसकेको इन्जिनियर थापाले बताउनुभयो । फिल्डमा पहिलो चरणका कामहरु सकिएपनि डिपिआर निर्माण कम्पनीहरुले ढिलो गर्दा कामले गति लिन सकेको छैन् । आउँदो असोज सम्म डिपिआर सम्पन्न गर्ने गरी काम अघि बढेको कम्पनीहरुको दावी छ ।
६ अर्व पैसा सकियो
नलगाड हाईड्रोपावर निर्माणका लागि हाल सम्म ६ अर्व बढी पैसा सकिएको छ । मोआब्जा वितरणमा ३ अर्व, डिपिआरमा साढे १ अर्व, बाटो, पुल, आर्मी क्याम्प, अफिस भवन निर्माणमा २ अर्व गरी ६ अर्व जति खर्च भएको इन्जिनियर थापाले बताए । डिपिआरको काम उर्जा मन्त्रालयमै थन्किएको छ । उर्जा मन्त्रालयले काम सकेपछि वन तथा वातावरण मन्त्रालयमा पुगेपछि डिपिआरको काम पुरा हुने देखिन्छ ।
अहिले सम्म बाँधस्थल बारेकोट ८ मा ४ वटा सुरुङ्ग ६०/६० मिटरका बनेका छन् । पावरहाउस दल्लीमा ३५५ मिटर लामो बनेको छ ।
जलविद्युत आयोजनालाई क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । सरकारले उक्त आयोजनाका लागि वैदेशिक लगानी जुटाउन प्रयास गरिरहेको छ ।
जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले आयोजनामा लगानी गर्ने इच्छा राखेको छ । त्यसबारे पूर्वमन्त्रीहरु, सचिव र सह–सचिवस्तरमा जाइकासँग पटकपटक छलफल भईरहेको बुझिन्छ । डीपीआरको हालसम्म तयार भएको विवरणअनुसार आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट लागत ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको छ ।
जलाशययुक्त आयोजना भएका कारण जलाशय निर्माणमा बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने देखिएको हो । नलगाड नगरपालिका–७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल निर्माण हुने छ ।
नलगाड खोला र ठूलीभेरीको दोभान दल्लीमा भूमिगत पावर हाउस निर्माण हुनेछ । आयोजनाका लागि बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र दुईदेखि तीन किलो मिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन् ।
यस्तै २४८ मिटर अग्लो बाँध निर्माण हुनेछ । जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुनेछ । आयोजनामा चार वटा टर्वाइन रहनेछन् । प्रत्येक टर्वाइनबाट १ सय ४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट एक वर्षमा एक हजार २ सय ३२ मेगावाट ९घण्टा० ऊर्जा उत्पादन हुनेछ ।
आयोजनाबाट उत्पादित विद्युत ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सवस्टेशनमा जोडिनेछ । नलगाडकै दानीपिपलमा ४०० केभी प्रशारण लाइनको सवस्टेशन निर्माण कार्य जारी छ । नलगाड निर्माणकै लागि चार मेगावाटको ताँसुगाड जलविद्युत आयोजनाको डीपीआरको काम जारी छ । हाल उर्जा मन्त्रालयमा जाजरकोटका सांसद शक्तिबहादुर बस्नेत मन्त्री बनेपछि अव कामले गति लिने जाजरकोट बासीहरुले आशा व्यक्त गरेका छन् । उनकै पहलमा २०७३ सालमा नलगाड हाईड्रोपावर सुरु भएको थियो ।-हाम्रो पहुँच
प्रतिक्रिया