उपनिर्वाचनमा माओवादीले उम्मेदवार नउठाउने

उपनिर्वाचनमा माओवादीले उम्मेदवार नउठाउने

काठमाडौँ –  नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने भएको हो । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताउनुभयो । यस क्षेत्रमा माओवादीको समानूपातिक मत ८ हजार ४०७ रहेको छ ।

पार्टीले उम्मेदवार नउठाउने भएपछि कांग्रेसका उम्मेदवार श्रेष्ठलाई सघाउने अधिकारीले बताउनुभयो । यस्तै तनहुँ १ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको केन्द्रीय सदस्य आशा कोइरालाले बताउनुभयो । तनहुँका माओवादी नेताहरूले पार्टीकै उम्मेदवार उठाउनुपर्यो गत शनिवार प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए । तर सो क्षेत्रमा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेको छ । यस क्षेत्रमा माओवादीको समानूपातिक मत ७ हजार ३२६ रहेको छ ।

यस्तै बारा २ मा सो पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ । उक्त क्षेत्रमा यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने माओवादी केन्द्रका सचिव गणेश साहले बताउनुभयो । ‘बारा २ बाट हाम्रो पार्टीको उम्मेदवार हुने छैन । हामीले उपेन्द्रजीलाई सघाउने निर्णय भैसकेको छ’ साहले भन्नुभयो, ‘यदि हामीले चुनाव जितेको भए पहिलो दाबी हुने थियो । हामीले चुनाव हारेको क्षेत्र पर्यो । गठबन्धनलाई साथमा लिएर जानुपर्ने भएकाले उपेन्द्रजीलाई सघाउने तयारी छ ।’ यस क्षेत्रमा माओवादीको समानूपातिक मत ३ हजार २६५ रहेको छ ।

माओवादीले तनहुँ १ बाट चुनाव लड्न पार्टी कोषाअध्यक्ष श्रीराम ढकालसहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने सूर्यबहादुर गौलीको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा सिफारिस भएका ढकालले चुनाव नलड्ने घोषणा गरेपछि अन्तमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हो ।

प्रतिक्रिया