पातारासी पाँच नम्बर वडा बालविवाह मुक्त वडा घोषणा

पातारासी पाँच नम्बर वडा बालविवाह मुक्त वडा घोषणा

जुम्ला –  पातारासी गाउँपालिका वडा नम्वर ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । संघीयतापछि जुम्लाको पातारासी ५ बालविवाह मुक्त वडा घोषणा गर्ने जुम्लाको पहिलो वडा बनेको छ ।
आइतबार एक कार्यक्रम आयोजना गरी वडा नं ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

यसअघि अशिक्षाका कारण बालविवाह भए पनि अहिले प्रविधिको दुरुपयोगले विवाह हुने गरेको छ ।
बालविवाहले महिलाको स्वास्थ्य शिक्षा रोजगारी जस्ता क्षेत्रमा असर पारेको छ । परामर्श, छलफल तथा दण्डित गरेर भए पनि वडामा बालविवाह रोक्ने अभियान चलाइएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीले बताउनुभयो ।

बालविवाह गर्नेलाई गाउँपालिकाबाट हुने सार्वजनिक सेवाबाट बञ्चित गर्नेदेखि विवाह बहिष्कार गर्ने संस्कार विकास भएको उहाँले बताउनुभयो । यसका लागि सातवटै वडामा बालक्लब गठन गरेर पातारासीको महिला तथा बालबालिका शाखाले साझेदारी संस्था किर्डाक नेपाल र वल्र्डभिजनको सहयोगमा बालविवाह मुक्त वडा घोषणा गरेको हो ।

त्यस्तै पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले यसअघि बालविवाह भए नभएको स्वास्थ्यकर्मी र पत्रकारलगायतको टोलीले अनुगमन गरेको बताएका छन् ।
त्यस्तै अन्य वडालाई क्रमिकरूपमा बालविवाह मुक्त वडा घोषणा गर्दै समग्र पालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने तयारी रहेको स्वास्थ्य शाखाका प्रमुख रतन बुढ्थापाले बताउनुभयो ।
पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावकले निगरानी नगरेकै कारणले जुम्लामा बालविवाह बढेको उहाँको भनाइ छ ।

त्यस्तै पातारासीको ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बालक्लब, वडा सरकार, समूह परिचालन तथा किर्डाकद्वारा (बाल स्पन्सर) परियोजना लागू गरी यो अवस्थामा पुगेको रामशंकर दवाडीले बताउनुभयो ।

प्रतिक्रिया