एक बर्षदेखि बाख्रा गोठमा हुलिएकी निरुताको उद्धार

एक बर्षदेखि बाख्रा गोठमा हुलिएकी निरुताको उद्धार

सुर्खेत –  मानसिक स्वास्थ्य समस्यका कारण करिब १ बर्षदेखि बाख्रा गोठमा हुलिएकी एक बालिकाको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ११ की १५ बर्षिया बालिका निरुता खत्रीको मानसिक स्वास्थ्यमा समस्या आएपछि घरपरिवारले उनलाई घर नजिकैको बाख्रा गोठमा हुल्दै बन्द गरेर राख्दै आएका थिए ।

बोल्न नसक्ने र मानसिक समस्या भएकी निरुतालाई उनका घरपरिवारले काम गर्न जादा उनलाई सधै घर नजिकै रहेको बाख्रा गोठमा बन्द गरेर राख्दै आएका थिए । घरमा छोड्दा रुखमा चढ्ने, दौडने लगायतका विभिन्न हर्कत देखाउन थालेपछि उनलाई एक बर्षदेखि बाख्रा गोठमा बन्द गरेर काम गर्न जाने गरेको उनका बुबाले बताउनुभयो ।

उनलाई बाख्रा गोठमा राखेको भिडियो समाजिक संजालमा आएपछि सोमबार कर्णाली प्रदेशका युवा समाजसेवी महेन्द्र थापाको पहल सुर्खेतमा रहेको मानव सेवा आश्रयमले उनको उद्दार गरेर सुर्खेत ल्याएको छ । मानवसेवामा राखेर उनको थप उपाचार गरिने र स्वास्थ्यमा सुधार आएपछि घरपरिवार संग पुर्नमिलन गरिने मानव आश्रम सुर्खेतले जनाएको छ । उनको उद्दारमा स्थानीय सरकार वडा तथा नगरपालिकाले पनि सहयोग गरेको छ ।

भेरीगंगा नगरपालिका ११ मा रहेको जाजारकोटी टोलमा समान्य घरपरिवारमा जेठो सन्तानको रुपमा जन्मीएको उनको पहिले देखि नै व्यवहार अरु बालबालिका भन्दा फरक रहेको उनकी आमा मानकुमारी खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सानै हुँदा ठिक हुन्छ होला सोच्यौँ तर पछि विस्तारै यो रोगले च्याप्दै गयो बाबा‘।ममि‘ लागायतको कोही शब्द बोल्दै आएकोमा पछि बोल्न पनि बन्द भयो र विद्यालय पठाउँदा पनि आफ्नै सुरमा हिड्दै जाने र घरमा राख्दा पनि रुख चढ्ने दौडने जस्ता गतिविधि गर्न थालेपछि विगत १ बर्षदेखि यसरी नै बाख्रा गोठमा थुनेर आफ्नो काम गर्दै आइरहेका छौँ ।”

उनका बुबा बाख्रा पालन व्यवसाय गर्छन् । यसैबाट उनिहरुले जिविकोपार्जन गर्दै आएका छन् । घरमा निरुता जेठो सन्तान हुन् । जोठो सन्तानलाई नै यस्तो भएपछि घरमा काम गर्न निकै कठिनाइ भएको र हालसम्म उपचारमा नै झण्डै १० लाख खर्च भइसकेको उनका बुबा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जन्मेदेखि हालसम्म यसै विरामको उपाचारका लागि भारत, काठमाडौं, नेपालगंज र सुर्खेत धेरै पटक पुर्याऔं तर ठिक भएन । झण्डै १० लाख जति खर्च लागिसक्यो अझैपनि उपचार हुन सकेको छैन् । निरुतालाई ठिक नभएपछि हामीहरु करिब १ बषदेखि बाख्रा गोठमा उसलाई थुनेर आफ्नो काम गर्न बाध्य छौँ । यस्तै उहाँले धामी झाक्रिबाट पनि धेरै खर्च भएको बताउनुभयो । उहाँले भन्नुभयो, कोही कोहीले यो धामी झाक्रिका कारण यस्तो भएको बताउनुभयो । यसैको लागि विभिन्न गतिबिधि गर्यौ । केही दिन अगाडि मात्र ५ वटा बाख्रा काट्यौँ तरपनि ठिक भएन् ।”

सामाजिक संजालमा बाख्रा गोठमा थुनिएकी बालिकाको भिडियो देखेपछि उद्दार गर्न गएका युवा समाजसेवी तथा मानव सेवा आश्रम सुर्खेतका प्रतिनिधी महेन्द्र थापाले हालसम्म झण्डै २ सय भन्दा धेरै यस्ता व्यक्तिको उद्दार गरेर उपचार गरेको र कतिपयलाई घर मिलन समेत गराइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानव सेवा आश्रम मार्फत हामीले जसको नाना, छाना र खाना छैन । जसको साहार छैन । तस्ता व्यक्तिहरको उद्दार गरिरहेका छौ । यस्तै मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको पनि मानव सेवा आश्रमबाट उपचार गराइरहेका छौँ ।” यस्तै यीनै समाजसेवी थापाको पहलमा केही हप्ता पहिले एक बर्षदेखि ओडारमा बस्दै आएका एक व्यक्तिको पनि उद्दार गरिएको थियो ।-कर्णाली मिडिया

प्रतिक्रिया