घरेलु उद्योगमै सिमित आरन व्यवसाय

घरेलु उद्योगमै सिमित आरन व्यवसाय

रुकुमपश्चिम- चैत सुरु भएसँगै किसानलाई बर्खे बाली लगाउने र हिउँदे बाली भित्र्याउने तरखरमा छन् । खेतीपाती गर्दा कृषकलाई प्रयोग हुने हँसिया, खुकुरी, फाली, कुटो, कोदाली लगायत घरायसी कामकाजका लागि आवश्यक हुने फलामे औजार किनबेच हुने बेला यही हो । तर, पहिले जस्तो घरेलु उद्योगमा तयार पारिएको औजार बिक्री हुन छाडेको छ ।

विगत तीन दशक देखि घरेलु आरन उद्योग व्यवसाय सञ्चालन गरिराख्नु भएका सिस्ने गाउँपालिका-२ बल्दजुर्नाका हर्कविर कामी निराश हुनुहुन्छ । “दिनभर दुःख गर्दा एकरदुई वटा औजार बन्छ” कामीले भन्नुभयो,“बाहिरबाट ल्याएका बजारमा उस्तै औजार केही कम मूल्यमा पाइने भएपछि हाम्रो दुःख छाडेर फलामको पैसा पनि उठ्दैन्न् ।”

कृषि औजार बिक्री हुन छाडेपछि उहाँलाई समस्या परेको हो । परम्परागत बालीघरे चलन छाडदै आरनलाई घरेलु उद्योग व्यावसायिक रूप दिएर चलाउनेहरू केही वर्षयता पेसा धान्न नसकेर दोधारमा छन् । आरनलाई चाहिने कोइला र कच्चा फलाम सजिलै र सस्तो मूल्यमा पाइन छाडेको छ । अर्का तिर बनाएका सामानको बिक्री घटेको छ ।

“घरेलु उद्योगले हाम्रो दुःख अनुुसारको कमाइ नहुने भो” कामीले भन्नुभयो,“पूणर् रूपमा आधुनिकरण मझौला तथा ठूला उद्योग सञ्चालन गर्ने हामीसँग लगानी छैन ।” स्थानीय सरकार र प्रदेश मातहतको घरेलु तथा साना उद्योग कार्यालयले वर्ष पिच्छे आरन सम्बन्धि तालिम दिइराखेको कामीले सुनाउँदै थप्नुभयो,“फलामे औजारमा जिल्लालाई आत्मनिर्भर र आरन व्यवसायबाट रोजगारीको सिर्जना गर्ने तर्फ सरकारले योजना बनाउनु जरुरी छ ।”

पछिल्लो समय गाउँ तिर खेती किसानीमा लाग्नेको सङ्ख्या घट्नु, सीमितले गरेको कृषिमा पनि आधुनिक उपकरणको प्रयोग बढ्नु, बजारमा आधुनिक घरेलु हतियारको सहजता लगायतका कारण स्थानीय श्रम र सीपमा आधारित व्यवसाय संकटमा परिराखेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मधुकर डाँगीले बताउनुभयो । सीमित किसानले प्रयोग गर्ने उस्तै घरेलु हतियारको मूल्य स्थानीयले उत्पादन गरेको भन्दा बजारमा आधा सस्तोमा पाइन थालेको डाँगीको भनाइ रहेको छ । “घरेलु उद्योगलाई आधुनिकरण मझौला तथा ठूला उद्योगमा रुपान्तरण गर्नु पर्ने आवश्यक छ” डाँगीले भन्नुभयो,“उक्त उद्योग सञ्चालन गर्नका लागि कम्तिमा एक करोड रुपैयाँ लगानी चाहिन्छ । प्रदेश सरकारले घरेलु कार्यालयमा पठाएको बजेटले ठूला आरन उद्योग स्थापना गर्ने बजेटले धान्दैन ।”

यो व्यवसायलाई आधुनिक र आत्मनिर्भर बनाउन आयातित हतियार प्रतिबन्ध गरी प्राविधिक उपकरण, कोइला र काँचो फलाममा अनुदान, आधुनिक प्रविधिको तालिम आवश्यक रहेको व्यवसायीको भनाइ रहेको छ ।

प्रतिक्रिया