जिल्ला स्तरीय निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन

जिल्ला स्तरीय निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन

 

रुकुम – रुकुम पूर्व भूमे गाउँपालिका-२ स्वास्थ्य चौकी काँक्रीमा तीन दिने जिल्ला स्तरीय निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मङ्गलबारबाट सुरु गरिएको मानसिक स्वास्थ्य शिविर बिहीबार सम्म सञ्चालन गरिने छ । युएमएनको आर्थिक सहयोग, जनजागरण मञ्चको प्राविधिक सहयोग, जिल्लाका तीन वटै गाउँपालिका पुथाउत्तरगङ्गा, भूमे र सिस्नेको सहकार्य र स्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजनामा तीन दिने मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

तीन दिन सम्म चल्ने शिविरमा मानसिक रोगका विशेषज्ञ डाक्टर सुमन अर्याल लयागत स्वास्थ्यकर्मीको टोलीले सेवा दिइराख्नु भएको छ । शिविरमा मानसिक स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श सेवा, निःशुल्क औषधि वितरण लगायतको सेवा प्रदान भइरहेको स्वास्थ्य चौकी काँक्रीका इञ्चार्ज तिलकबहादुर रोका मगरले बताउनुभयो । शिविरमा तीन वटै गाउँपालिकाबासीले सेवा लिइरहेको समेत रोका मगरले जानकारी दिनुभयो ।

‘यसअघि स्वास्थ्य चौकीमा चेकजाँच गर्न आउँदा मानसिक रोग लक्षण भएका बिरामी आउने गरेका थिए,’ उहाँले भन्नुभयो,‘शिविरबाट पत्ता लागेका मानसिक बिरामीको उपचार हुने छ भने थप मानसिक बिरामीको पहिचान गरी उपचार तथा मनोसामाजिक परामर्श दिइने छ ।’

शिविर उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले पछिल्लो समयमा मानसिक रोगमा ग्रसित हुनेहरूको सङ्ख्या बढ्दै गएको बताउनुभयो । अरुको देखासिकीका कारणले महत्त्व आकांक्ष धेरै हुँदै जादा मानसिक रूपमा समस्या देखा परिराखेको स्थिति रहेको श्रेष्ठले बताउनुभयो । मानसिक रूपमा अनावश्यक सोच नराख्न र स्वास्थ्यमा केही समस्या देखा परेमा नजिकको स्वास्थ्यकर्मीको सल्लाह सुझाव दिनु पर्ने श्रेष्ठले स्थानीयलाई आग्रह गर्नु भएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख नारायणप्रसाद चौधरीको अध्यक्षतामा शिविर उद्घाटन कार्यक्रम गरिएको थियो । प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, विशेष अतिथिमा जिसस उपप्रमुख मोहनबहादुर केसी, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठको रहेको थियो । अन्य अतिथिमा भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढा, भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढा मगर, युएमएनका टिम लिडर शिवप्रसाद अधिकारी, जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारी लगायतको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन जनजागरण मञ्चका परियोजना संयोजक मोहन खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया