पुरुष सबै कालापहाड, महिलाले धानेको सिंगो गाउँ

पुरुष सबै कालापहाड, महिलाले धानेको सिंगो गाउँ

जाजरकोट –  देशमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिए लगत्तै जाजरकोट भेरी नगरपालिका–११ कट्टी गाउँका भीमबहादुर वर र उनका तीन छोरा मजदुरी गर्न भारत गए । चार नातिनातिना, दुई बुहारी र भीमबहादुरकी पत्नी दुर्पती घरमै छन्। कान्छी बुहारी माइत गएकी छन्। घरका सबै पुरुष कामको खोजीमा कालापार (भारतमा गएर मजदुरी गर्न जानुलाई कालापार भन्ने गरिन्छ) गएपछि त्यो घरमा महिला र बालबालिका मात्र छन् ।

‘सम्पत्तिको नाममा यही एक टुक्रो पाखो बारी मात्र छ। आफ्नो बारीमा उब्जेको अनाजले वर्ष दिनमा ३ महिना मात्र खान पुग्छ। के गर्ने छोराहरूले पढ्न सकेनन् । गाउँमा रोजगारी पाइँदैन। सबै बेरोजगार भए । नुन, तेल र खाद्यको जोहो गर्न मजदुरी गरेर कमाई गर्न कालापार जानुको विकल्प छैन’, घरको आँगनमा नातिनातिना खेलाउँदै गरेकी दुर्पती भन्छिन्, ‘मैले विवाह गरेको २७ वर्ष भयो । १५ वर्षको हुँदा बिहे गरेकी हुँ । अहिले ४२ वर्षकी भएँ ।’

बिहे भएदेखि नै हरेक बर्ष श्रीमान्ले कालापार गएर कमाउने र त्यसबाट नै घरखर्च टार्ने गरेको बताइन्। उनले थपिन्, ‘तीनै छोराहरू पनि अहिले बाबाकै काममा निरन्तरता दिन थालेका छन् । बिहे गरिसकेका तीनै जना कालापार गएर नै गुजारा चलाएका छन् ।’ उनका अनुसार बाबुबाजेको पालादेखि नै कालापार कमाउने र नुन–तेलको जोहो गर्ने परम्परा जस्तै बनेको छ । अर्थात् कट्टी गाउँका सबै पुरुषले भारत गएका छन् । ‘यो गाउँमा धेरै जसो लघुवित्त र साहुले लिने मिटरब्याजले हैरान छन् । कालापार गएर कमाइ गरेको पैसा साहु र विभिन्न लघुवित्तको ऋण तिर्न ठिक्क हुन्छ । छाक छार्नसमेत मुस्किल पर्छ ।’

सोही गाउँकी देवी वर कामीका श्रीमान् लक्षे र छोरा विष्णु पनि रोजगारीको खोजीमा भारत गएका छन् । श्रीमान् र छोरा मजदुरीका लागि कालापार गएपछि घरमा महिला र बालबच्चा मात्र छन् । नातिनातिना र बुहारीका साथ ४५ वर्षीया देवीले घर सम्हालिरहेकी छन् । घरको डिलमा बसेर नातिनातिना खेलाउँदै गरेकी देवीले भन्नुभयो, ‘श्रीमान् कालापार जान थालेको २८ वर्ष हुन थाल्यो । घरमा महिला मात्र बस्ने हाम्रो त बानी परिसक्यो । हरेक बर्ष कालापार गएर कमाइ गरेर ल्याउने र घर खर्च टार्ने गरेका छन् । कमाइ गर्न हरेक वर्ष तिहार सकेर मंसिरमा जाने र दसैं मान्न घर फर्किन्छ् ।’ उहाँले  पनि मिटरब्याजले आफूहरू हैरान भएको बताउनुभयो ।

त्यस्तै, १९ वर्षीया उर्मिला विकका श्रीमान् र ससुरा पनि कामको खोजीमा कालापार गएका छन् । उनीहरू दसैं–तिहार मानेर चुनावमा भोट हालेर भारत प्रस्थान गरेका हुन् । ‘घरमा मेरो सानो बाबु र सासुआमा छौं। हामीले घर सम्हालेर बसेको छौँ उहाँहरूले पैसा पठाएपछि घर खर्च टार्छौं । उताबाट लामो समय पैसा नपठाए त साह्रै समस्या हुन्छ’, उहाँले भन्नुभयो । कट्टी गाउँका पुरुषहरू कालापार गएर कमाइ गरेर घरखर्च टार्न थालेको बर्षौं भइसक्यो । ठूलो प्रगति नभए पनि कालापारको कमाइले गाउँलेले घरखर्च टारिरहेका छन् ।

कट्टी गाउँ मात्र होइन जिल्लाका अधिकांश गाउँका मानिस मजदुरीका लागि भारत जाने गरेका छन् । जाजरकोटबाट मात्र २० हजार बढी युवायुवती कामको खोजीमा भारत जाने गरेको जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ । भारत गएर मजदुरी नगरे घरखर्च चलाउन समस्या पर्ने गरेको जिल्ला समन्वय समिति जाजरकोटका संयोजक कालीबहादुर खत्रीले बताउनुभयो ।

काम गर्ने जनशक्ति भारतलगायतका अन्य देश पलायन हुन थालेपछि गाउँघरका जमिन बाँझै हुन थालेका छन् । पुरुषहरू कामको खोजीमा कालापार पसेपछि कतिपय गाउँ पुरुषविहीन भएका छन् । महिलाले मात्र घरधन्दा चलाउन थालेका छन् । गाउँमा पुरुष युवाहरू नभएपछि बिरामी बोक्ने र मलामी जाने मानिसको समेत समस्या पर्न थालेको भेरी–११ की देवी वरले बताउनुभयो ।
अन्नपूर्ण पोस्ट

प्रतिक्रिया