सफ्टवेयर खरिद गरी प्रयोग नगर्नेविरुद्ध भ्रष्टाचार मुद्दा

सफ्टवेयर खरिद गरी प्रयोग नगर्नेविरुद्ध भ्रष्टाचार मुद्दा

 

काठमाडौं– सरकारी पैसामा खरिद सफ्टवेयर प्रयोग नगर्नुलाई बद्‌नियत ठान्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका सिम्रौनगढ नगरपालिकाका प्रशासकीय अधिकृतसहित तीन अधिकृतलाई भ्रष्टाचार मुद्दा लगाएको छ ।

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध १ लाख ९९ हजार ८ सय ९७ रुपैयाँ बिगोसहित अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

खरिदका कार्यका निम्ति टिप्पणी उठाउने र सदर गर्ने अधिकृतहरुलाई आयोगले दोषी ठानेको छ । उनीहरुले २०७६/०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडानरविस्तार गरेका थिए । तर, खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानि–नोक्सानी पुर्याएको जिकिर आयोगको छ ।

आयोगको दाबी अदालतबाट प्रमाणित भएमा ती तीन अधिकृतले दुई वर्षसम्म कैद वा बिगो बमोजिम जरिवाना दुवै सजाय हुनेछ । त्यसअतिरिक्त बहालवाला सरकारी अधिकारी भ्रष्टाचारी प्रमाणित भएमा पेन्सन सुविधा पनि पाउने छैनन् ।

प्रतिक्रिया