पूर्वी रुकुममा सिस्नु टिप्न गएका २ जना नाबालिका मृत भेटिए
काठमाडौँ – रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत भेटिएका छन् । बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मृत भेटिएका हुन् ।
दुई जना नाबालिकाको शव भेटिएको प्रहरी प्रवक्ता (डिआइजी) पोषराज पोखरेलले बताउनुभयो । बुधवार सिस्नु टिप्न सेराबाङ गएका उनीहरू रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय लुपर खोलाको भिरमा शव भेटिएपछि अनुसन्धान गर्न नेपालगन्जबाट कुकुर सहितको टिम परिचालन गरिएको छ । ‘नेपाली सेनाको हेलिकप्टरमा तालिम प्राप्त कुकुर घटनास्थलमा परिचालन गरिएको छ’ डिआइजी पोखरेलले भन्नुभयो–‘डिएसपी नेतृत्वको टिम घटनास्थलमा पुगेको छ ।’ पूर्वी रुकुमकी डिएसपी अञ्जना श्रेष्ठ घटनास्थलमा पुगेकी छिन् । अभिभावकले बिहीबार बिहान घटनाबारे प्रहरीलाई जानकारी गराएका हुन् । सदरमुकामबाट घटनास्थलमा पुग्न करिब ९ घण्टा लाग्छ ।
प्रतिक्रिया