दुई कम्युनिस्ट पार्टीबीच एकता गर्ने निर्णय

दुई कम्युनिस्ट पार्टीबीच एकता गर्ने निर्णय

काठमाडौँ –  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीचमा पार्टी एकता गर्ने निर्णय भएको छ ।

शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेकपा (मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेकोले निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ ।

पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरू रहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले बताउनुभयो ।

उहाँले, ‘आजको दिन धेरै खुसीको दिन हो । हामीले धेरै लामो समयदेखि प्रयत्न गर्दै आएका थियौँ । आज हामी सफल भएका छौँ । यद्यपि यो समग्र पार्टी एकता भने होइन । तर यो पार्टी एकताको निम्ति एउटा महान् ऐतिहासिक अभियान हो । त्यसकारणले हामीलाई धेरै खुसी लागेको छ ।’

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिस्ट र वामपन्थीहरू सङ्गठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हन लागेको बताउनुभयो ।

प्रतिक्रिया