प्रचण्ड प्रधानमन्त्री जस्तो हुन सक्नुभएन : सांसद थापा

प्रचण्ड प्रधानमन्त्री जस्तो हुन सक्नुभएन : सांसद थापा

                                                                                    फाइल तस्बीर

काठमाडौँ –  सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आलोचना गर्नुभएको छ ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयका क्रममा बोल्दै महामन्त्री थापाले प्रचण्ड गठबन्धन दलको साझा प्रधानमन्त्री हुन नसकेको टिप्पणी गर्नुभयो ।

प्रचण्डको उद्घाटन, शिलान्यास र भाषण मोहतिर कटाक्ष गर्दै उनले प्रधानमन्त्रीलाई फुर्सद नै फुर्सद रहेको पनि उल्लेख गर्नुभयो । हाम्रो प्रधानमन्त्रीलाई किन यति फुर्सद छ ? उद्घाटन, शिलान्यास र भाषणमा समय ब्यतित गरिरहनु भएको छ, उहाँले भननुभयो, म चकित परिरहेको छु ।

उहाँले प्रचण्ड गठबन्धन दलको प्रधानमन्त्री भएकाले एक्लै हिँड्न खोज्नु ठिक नहुने पनि बताउनुभयो । प्रधानमन्त्रीले टिम चलाउने हो एक्लै हिँड्ने होइन । प्रधानमन्त्रीका लागि सबैभन्दा महत्वपूर्ण प्रधानमन्त्रीको कार्यालय हो, उहाँले भन्नुभयो, प्रधानमन्त्रीले योबेला सबैभन्दा चुस्त टिम बनाउनुपर्छ। टिमलाई चलाएर अघि बढ्नुपर्छ । तर अहिलेसम्म त्यस्तो देखिएन । उहाँले अवकाश हुन ३ महिना मात्रै बाँकी छँदा सञ्चार मन्त्रालयका सचिव डा. बैकुन्ठ अर्याललाई सरकारले जगेडामा राखेकोप्रति पनि आपत्ति प्रकट गर्नुभयो ।

सेवानिवृत्त हुन लागेको कर्मचारीलाई थन्क्याइयो, उहाँले भननुभयो, अवकाशमा जान केही महिना बाँकी भएको कर्मचारीलाई यसरी जगेडामा पठाउनु कति उचित हो ?
उहाँले प्रचण्डलाई गठबन्धनको नेता भएर बस्ने समय छोट्याउन पनि भने । प्रधानमन्त्रीले गठबन्धनको नेताका रुपमा बैठक बस्ने समय छोट्याउनुपर्छ, उहाँले भन्नुभयो, उहाँले आफ्नो दलको नेता हुने कुरा बिर्सिए हुन्छ । प्रधानमन्त्री त प्रधानमन्त्री जस्तो हुनुपर्यो तर त्यस्तो हुन सकेको छैन ।

उहाँले गठबन्धन सरकार बनेको चार महिना पुग्न लाग्दा पनि जनताको निराशा कम नभएको बताउनुभयो । जनता यति धेरै निराश छन्, आत्तिएका छन्, उहाँले भननुभयो, तर सरकारले उत्साहित बनाउन सकेन, भरोसा दिलाउन सकेन । उहाँले साझा न्यूनतम कार्यक्रम आइसकेकाले प्रधानमन्त्रीले अब ६ महिना मात्रै समय छ भनेर काम गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले अब मसँग ६ महिना मात्रै समय छ भनेर काम गर्नुपर्छु, उहाँले भन्नुभयो, साझा न्यूनतम कार्यक्रमको नतिजा आगामी असोजमा यही संसदमा सुनाउने गरी तयारी थाल्नुपर्छ ।

उहाँले मिटरब्याजीसहितविरुद्ध सरकार निर्मम हुनुपर्ने पनि बताउनुभयो । बोलेर हुँदैन प्रधानमन्त्री एक्सन प्रधान हुनुपर्छ । साझा न्यूनतम कार्यक्रम आयो अब सरकारले गति लिनुपर्छ, उहाँले भन्नुभयो, नियत र निर्णय ठीक भयो भने मात्रै नतिजा आउँछ। हामी सरकार सफल भएको देख्न चाहन्छौँ। कतिपयले यो व्यवस्था असफल होस् भन्ने चाहेका छन् । त्यसैले प्रधानमन्त्रीले काममा केन्द्रित हुनुपर्यो ।

प्रतिक्रिया