इरानमा छात्रालाई विष खुवाउने घटना बढे

इरानमा छात्रालाई विष खुवाउने घटना बढे

इस्लामिक धार्मिक सँस्कारले नै महिला माथि कट्टर देखाउने इरानका विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढेका छन् । छात्राको मात्र पढाइ हुने ती विद्यालयहरूमा ग्यास वा विषाक्त पदार्थको सेवनका घटना हुँदै आएका छन् ।

देशका ३१ प्रान्तमध्ये २५ वटामा रहेका २ सय ३० वटाभन्दा बढी विद्यालयमा पाँच हजार जनाभन्दा धेरै छात्राहरू विषाक्तताबाट प्रभावित भएका छन् । कतिपय अवस्थामा विद्यार्थीहरू बेहोस हुने र अस्पताल भर्ना हुने गरेका छन् ।

विगत तीन महिनादेखिको समयमा विद्यालय गएर विरामी परेका छात्राहरूले सुन्तलाको वा कुहिएको माछाको जस्तो गन्ध आएको अनुभव भएको बताएका छन् ।

खुजेस्तानको हाफ्टकेल सहरको एक विद्यालयमा कम्तीमा ६० जना छात्रालाई विषाक्त पदार्थ खुवाइएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । त्यस्तै, पश्चिम अजरबैजान प्रान्तको उर्मियामा पनि धेरै छात्राहरू बिरामी भएपछि हिजो अस्पताल लगिएको छ ।

यस सम्बन्धमा प्राप्त सरकारी टिप्पणीमा देशको महान्यायाधिवक्ता कार्यालयले फौजदारी अनुसन्धान सुरु गरेको र यो जानाजान गरिएको हुनसक्ने तर्फ खोजी भइरहेको जनाएको छ ।

छात्राहरु माथि विद्यालय प्रशासन वा अरु वाह्य व्यक्तिबाट छात्राहरूलाई किन यसो हुने गरेको छ ? यसबारे खोजी भइरहेको महान्यायाधिवक्ता कार्यालयले बताएको छ ।

यी घटनाको छानबिनका लागि राष्ट्रिय अनुसन्धान समितिका प्रमुख सांसद हामिदरेजा काजेमीको नेतृत्वमा समिति बनेको छ । समितिले अन्तिम प्रतिवेदन दुई हप्ताभित्र सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया