कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले
काठमाडौँ – कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।
केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो । गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो । तर मुख्यमन्त्री शर्माले एमालेका ३ मन्त्रीलाई चाहेर पनि बर्खास्त गर्न सकिरहेका थिएनन् । अब एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चुनावताका माओवादी अध्यक्ष प्रचण्डले मुख्यमन्त्रीका लागि वचन दिएकाले नेतृत्वमा आफ्नो दाबी रहने बताउँदै आएका छन् । यद्यपि शुक्रबार बिहान माओवादी उपमहासचिव जनार्दन शर्मासँगको भेटपछि भने शाही लचक देखिएका छन् । शर्माले नेतृत्वमा वर्तमान मुख्यमन्त्री नै कायम रहने र साढे २ वर्षपछि शाहीले नेतृत्व गर्ने गरी समीकरण अघि बढ्ने सङ्केत गरे । शर्मा–शाहीबीचको भेटमा प्रारम्भिक सहमति भइसकेको भनिएपछि त्यस्तो लिखित कुनै सहमति भने भएको छैन ।
कांग्रेस नेता शाहीले भने यसबारे केन्द्रले नै टुङ्गो लगाउने बताउनुभयो । ‘अब कुरा आलोपालोकै आउँछ, सायद उहाँहरू, पूर्ण दाइहरू बसेर छलफल गर्नुहुन्छ,’ शाहीले भने,‘पहिला एमाले हट्नुपर्यो त्यसपछि छलफल गरौँला भन्ने कुरा भएको थियो ।’
प्रतिक्रिया