आफ्नो मागबाट पछि हटेनन् मिटरब्याज पीडित

आफ्नो मागबाट पछि हटेनन् मिटरब्याज पीडित

काठमाडौँ –  मिटरब्याज प्रभावित र सरकारबीच मंगलबारको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा पीडितहरुले राखेको नीतिगत विषय समाधानका लागि खेस्रा बनाएर अर्को बैठकमा छलफल गर्नेगरी छलफल टुंगिएको छ ।

मिटरब्याजविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले ६ बुँदे माग राखेका छन् । पीडितहरुले राखेको मागबारे नीतिगत विषमा खेस्रा बनाएर फेरि छलफल गरिने सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीप कुमार कोइरालाले बताउनुभयो । आइतबार र सोमबार पनि समस्या समाधानबारे छलफल भएको थियो ।

अदालती प्रक्रियाको विषयमा सरकारी टिमले ‘केही गर्न नसक्ने’ जवाफ दिएका छन् । वार्तामा अदालतको फैसला र मिटरब्याजीको नाममा बनेको लालपुर्जाबारे केही गर्न नसक्ने सरकारी पक्षले बताएका छन् । तर, पीडतहरुले लालपुर्जा फिर्ता नपाएसम्म मधेस नफर्किने अडान लिएका छन् ।

कानुन संशोधनको प्रक्रिया सुरु गर्न र मिटरब्याज समस्या समाधान गर्न बनेको आयोगको कार्यविधि बनाएर काम सुरु गर्न सरकारी पक्ष सहमत भएका छन् ।‘मन्त्रीपरिषद्ले तत्काल गर्नसक्ने निर्णयबारे पनि खेस्रा बनाउँछौं’ वार्ता टोलीका संयोजक कोइरालाले भन्नुभयो,‘स्थानीय प्रशासनले सक्रियता बढाउनुपर्ने उहाँहरुको कुरा छ, त्यसमा हामी सकारात्मक छौं ।’

समस्याबारे अर्कोदिन फेरि छलफल हुनेछ । सङ्घर्ष समितिका संयोजक अबधेश कुशवाहका अनुसार पीडितले फर्जी लिखत, तमसुक, दृष्टि बन्धक, रजिष्ट्रेशन र चेक मन्त्रिपरिषद्ले खारेज गर्नुपर्ने माग छ । समस्या समाधानका गर्न मंगलबार ४ घण्टा छलफल भएको थियो ।

प्रतिक्रिया