रुकुममा कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने

रुकुममा कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने

रुकुम पश्चिम- रुकुम पश्चिममा कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा आगामी वैशाख १८ गते देखि वैशाख २४ गतेसम्म जिल्ला सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा रुकुम कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

यस प्रतियोगिताको विजेताले नगद ५ लाख र कप पुरस्कार पाउने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजबिक्रम विएमले जानकारी बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको उप विजेताले नगद २ लाख ५० हजार नगदका साथमा कप पाउँने छ ।

त्यस्तै सेमिफाइनलमा पुग्ने २ टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । सेमिफाइनल पुग्ने दुई टिमले समान १र१ लाख नगद र कप पुरस्कार पाउने अध्यक्ष विएमले बताउनुभयो । त्यस्तै व्यक्तिगत इभेन्टमा पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

वेष्ट प्लेयर, वेष्ट डिफेन्डर, वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट ब्लकर, इमर्जिङ प्लेयर, वेष्ट सर्भर र वेष्ट कोच छनोट गरी पुरस्कृत गरिने छ । वेष्ट प्लेयरलाई १० र अन्यलाई समान ५/५ हजारले पुरस्कृत गरिने आयोजकको भनाई छ । सबै पुरस्कारमा २५ प्रतिशत कर कट्टी हुने छ ।

पुरस्कार र व्यवस्थापनका हिशावले यो कर्णाली प्रदेशकै अहिलेसम्मको सर्वाधिक ठूलो प्रतियोगिता भएको अध्यक्ष विएमले बताउनुभयो । यसैविच प्रतियोगिता हेर्नका लागि टिकट शुल्क लाग्ने छ । जिल्लाको इतिहासमै पहिलो पटक सबैभन्दा व्यवस्थित र नयाँ खालको प्रतियोगिता गर्न लागिएकोले पहिलो पटक टिकटको व्यवस्था गरिएको उहाँको भनाई छ ।

दर्शकका लागि अस्थायी प्याराफिटको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । दर्शकले आरामदायि तरिकाले खेल हेर्न पाउँने उहाँको भनाई छ । कोहि पनि दर्शकले उभिएर खेल हेर्नु नपर्ने बताइएको छ । प्रतियोगिताका लागि १ सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ । उक्त शुल्कले दिनभरी खेल हेर्न पाउने आयोजकले जनाएको छ ।

जिल्लाको खेलकुद विकासका लागि पहिलो पटक सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आयोजना गरिएको तथा यो प्रतियोगिता अहिलेसम्मकै व्यवस्थित र आधुनिक तरिकाबाट संचालन हुन गइरहेको अध्यक्ष विएमले स्पस्ट पार्नुभयो । प्रतियोगिता खुला जिल्ला स्तरीय हो ।

तर साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५, रुकुम पूर्व र प्रदेश भित्रका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागिय टिमले समेत प्रतियोगितामा भाग लिन आउने विएमले बताउनुभयो । यसवाहेक अन्य जिल्लाले भने प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया