मुसिकोटमा कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम लागु

मुसिकोटमा कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम लागु

रुकुम पश्चिम- रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम लागु हुने भएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र ९सिएसी० नेपाल र मुसिकोट नगरपालिकाको साझेदारी तथा सिबिएम ग्लोबलको आर्थिक सहयोगमा यो कार्यक्रम लागु हुन लागेको हो । मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपांगता भएका वा त्यसको जोखिममा रहेका व्यक्तिहरुले स्वतन्त्र जीवनको आनन्द लिनसक्ने र समान आधारमा समुदायमा समावेश हुनसक्ने समावेशी समुदाय निर्माण गर्न योगदान पुर्याउने लक्षका साथ यो कार्यक्रम लागु हुन लागेको हो ।

यस कार्यक्रम अन्तर्गत विद्यालय नर्सहरुको क्षमता अभिवृद्धि, चेतनाका लागि मिडिया, सामाजिक सञ्चाल परिचालन तथा सडक नाटक, एकद्धार संकट व्यवस्थापन केन्द्रको क्षमता विकास, आत्महत्या रोकथाम, पुनस्र्थापनामा सहयोग, मातृ मानसिक स्वास्थ्य कार्यक्रमहरु संचालन हुने छन् ।

त्यस्तै मानसिक स्वास्थ्य समन्वय समितिको नियमित बैठक, पालिका स्तरीय मानसिक स्वास्थ्य नीतिको विकास र कार्यान्वयन, स्वास्थ्यकर्मीको तालिम तथा सुपरिवेक्षण, स्वावलम्बन समूहको स्वपैरवी र संस्थागत विकासका लागि क्षमता बृद्धि र विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम पनि संचालन हुने सिएमसी नेपालका सुपरभाइजर सुमिता मल्लले बताउनुभयो ।

यस कार्यक्रमका प्रत्यक्ष लाभग्राहीमा मानसिक स्वास्थ्य समस्या भएका र मनोसामाजिक अपांगता भएका वा त्यसको जोखिममा रहेका, अपांगता भएका वा त्यसको जोखिममा रहेका व्यक्ति र बालबालिका तथा किशोर किशोरी रहने उहाँले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रमका लागि मुसिकोटका ४ वटा स्वास्थ्य संस्था र तीन वटा विद्यालय छनौट गरिएको छ । स्वास्थ्य संस्थामा जिल्ला अस्पताल, साँख स्वास्थ्य चौकी, भलाक्चा स्वास्थ्य चौकी र छिवाङ स्वास्थ्य चौकी रहेका छन् भने विद्यालयमा त्रिभुवन जनता मावि खलंगा, बालकल्याण मावि झुल्खेत र महेन्द्र मावि चौतारा रहेका छन् ।

यो कार्यक्रमका लागि नगर प्रमुख महेन्द्र केसीको संयोजकत्वमा मानसिक स्वास्थ्य समन्वय समिति पनि गठन गरिएको छ । त्यस्तै कार्यक्रम संचालनका लागि सम्झौता समेत सम्पन्न भएको नगरपालिकाले जनाएको छ । यो कार्यक्रम जिल्लाको सानीभेरी गाउँपालिकामा पनि संचालन हुने छ । यसअघि सुर्खेत र दैलेखका ५ वटा स्थानीय तहमा संचालित यो कार्यक्रम अहिले रुकुम पश्चिम र दैलेखका अन्य ५ वटा स्थानीय तहमा विस्तार भएको सिएमसी नेपालले जनाएको छ ।।

प्रतिक्रिया