राप्ती लोकमार्ग सुधारको माग गर्दै हस्ताक्षर अभियान

राप्ती लोकमार्ग सुधारको माग गर्दै हस्ताक्षर अभियान

सल्यान – राप्ती लोकमार्ग अन्तर्गत दाङ, सल्यान, रुकुम सडक खण्ड सुधारको माग गर्दै सल्यानका युवाहरूले हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका छन् । पटक पटक बजेट छुट्याएर पनि काम नभएको र सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको भन्दै युवाहरूले हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका हुन ।

उनीहरूले लोकमार्ग सुधारका लागि सकारात्मक अपेक्षा सहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक डिभिजन कार्यालय दाङ घोराहीमा बुझाउने गरी हस्ताक्षर सङ्कलन अभियान चलाएको समृद्ध सल्यान निर्माण अभियानका संयोजक ध्रुवराज वलीले बताउनुभयो । उहाँका अनुसार विशेष गरी कपुरकोट चोरखोला सडक जीर्ण बन्दै गएको र दुर्घटनाको जोखिम समेत बढेकाले तत्काल सुधार गर्न शुक्रवारदेखि हस्ताक्षर अभियान सुरु गरिएको हो ।

प्रतिनिधिमूलक हस्ताक्षर सङ्कलन गरेर ५ बुँदे सल्यानीको एक्केवद्धता सहित प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक डिभिजन कार्यालयमा डेलिगेसन लिएर जाने बताउनु भयो ।  सडक जीर्ण भएकै कारण जिल्लाको पर्यटकीय क्षेत्रमा असर पर्नुका साथै पर्यटकहरू आउन छोडेको अभियन्ता वलीको भनाई छ ।

राप्ती लोकमार्ग तीन जिल्लाको लाइफलाइन सडकका रुपमा रहेकाले सुधार गर्ने काम चलेको भए पनि त्यसले साकार रूप पाउन सकेको छैन । सल्यानका नागरिक र स्थानीय बासिन्दाले पनि तत्काल राप्ती लोकमार्ग बनाउनु पर्नेमा जोड दिँदै आइरहेका छन् ।

अहिले राप्ती लोकमार्ग सुधारका लागि १८ वटा ठेक्का लागेको छन् । जस मध्य ५ वटा ठेक्का अहिले पनि अलपत्र परेको सडक डिभिजन कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया