नवजात शिशुको सुरक्षाका लागि मोबाइल स्वास्थ्य सेवा कार्यक्रम

नवजात शिशुको सुरक्षाका लागि मोबाइल स्वास्थ्य सेवा कार्यक्रम

सल्यान –  मातृ तथा नवजात शिशुको सुरक्षाका लागि सल्यानमा सञ्चालित मोबाइल स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

मातृ तथा नवजात शिशुको मृत्युदर तथा घरमै प्रसूति हुने महिलाहरूको संख्यालाई शून्यमा पु¥याउने उद्देश्यले जिल्लामा सञ्चालन गरिएको मोबाइल स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको हो । यो कार्यक्रम जिल्लाका दश वटै स्थानीय तहमा सञ्चालन भइरहेको छ ।

कार्यक्रमअन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत आउने सन्देश (एसएमएस) अध्ययन गरेर हरेक गर्भवती महिलाले आठ पटक गर्भ जाँच (पूर्ण जाँच) गरे–नगरेको र स्वास्थ्य संस्थामै प्रसूति भएको सुनिश्चितता भए–नभएको निगरानी गर्ने भएका कारण पनि जिल्लाका ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता देखिएको हो । मोबाइलमा सन्देश आउने भएपछि काम गर्न धेरै नै सजिलो भएको छ ।

‘गर्भवतीको नाम दर्ता गरेपछि मोबाइलमा सन्देश आउने कुराले धेरै सजिलो बनाउने अपेक्षा गरेका छौं’– बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले भन्नुभयो– ‘हामीले यस कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउँदै लगेका छौं, नगरभित्र रहेका ५४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल उपलब्ध गएका छौँ ।’ उहाँले सबै गर्भवतीको घरसम्म महिला स्वास्थ्य स्वयंसेविका पुग्न नसकेको अवस्थामा गर्भवती दर्ता गरेपछि सिस्टमबाटै जाँच तथा हेरचाहका कुराहरू मोबाइले नै सम्झाइदिने र खबर गर्न पनि सजिलो हुने बताउनुभयो ।

गर्भवती महिलाको नाम दर्ता गरी त्यसको विवरण जनस्वास्थ्यमा राखिने र सोही दर्ता विवरणका आधारमा गर्भवती महिलाले गर्नुपर्ने जाँच र सुत्केरी हुने मितिको विवरण स्वयंसेविकाको मोबाइलमा सन्देश पुग्ने गर्छ । स्वयंसेविकाले त्यसै आधारमा गर्भवती महिलाले गर्भजाँच गराए–नगराएको र स्वास्थ्य संस्थामा सुत्केरी भए–नभएको यकिन गरेर स्वास्थ्य संस्थामै पठाउन प्रेरित गर्ने गौतमको भनाइ छ । नियमित जाँच र उपचार नपाउँदा गर्भवती महिलाहरूको गर्भ खेर जाने समस्या तथा आमा र बच्चामा देखिन सक्ने जोखिमहरू मोबाइल स्वास्थ्य कार्यक्रम सञ्चालन भएपछि कम हुने अपेक्षा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

‘समय–समयमा जाँच मात्रै भयो भने पनि आमा र बच्चाको स्वास्थ्य अवस्था पत्ता लाग्छ र जोखिम कम गर्न सकिन्छ’– उहाँले भन्नुभयो– ‘यो कार्यक्रम पूर्णरुपमा प्रभावकारी हुने अपेक्षा गरेका छौं ।’ मातृ तथा नवजात शिशुमा आउनसक्ने जोखिम कम गराउन मोबाइल स्वास्थ्य कार्यक्रमको सन्देशहरू महत्वपूर्ण हुने उहाँको भनाइ छ । ‘मोबाइल स्वास्थ्य कार्यक्रमका लागि जिल्लाका सबै महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिनेछ, उनीहरूले गर्भवती महिला र नवजात शिशुको उपचार, हेरचाहका लागि सन्देश आदान–प्रदान गर्नेछन्’– उहाँले भन्नुभयो । सल्यानटुडे

आफ्नो कार्य क्षेत्रभित्र रहेका गर्भवती महिलाहरूको गर्भ बसेको अवधि, नाम, उमेरलगायत विवरणहरू समेटेर महिला स्वास्थ्य स्वयंसेविकाले शुरुमा गर्भवती महिला सिस्टममा दर्ता गर्छन् । गर्भवती महिलाले गर्भ जाँच गर्नुपर्ने निश्चित समयभन्दा एक साताअघि नै महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा गर्भ जाँच गराउने बेला भएको सन्देश जान्छ र महिला स्वास्थ्य स्वयंसेविकाले गर्भवती महिलालाई भेटेर सन्देश सुनाउने कार्यक्रम अधिकृत पवन वर्णवालले जानकारी दिनुभयो ।

सुत्केरी भइसकेपछि फेरि सिस्टममा स्वयंसेविकाले घर या स्वास्थ्य संस्थामा प्रसूति भएको कुरा दर्ता गराउँछन् र बच्चा जन्मेपछि सुत्केरी जाँच गराउनुपर्ने सन्देश पनि मोबाइलमा जाने उहाँको भनाइ छ । मेडिक मोबाइलको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो । मोबाइल स्वास्थ्य सेवा शुरु भएपछि कुन हेल्थपोष्ट र स्वास्थ्य संस्था अन्तर्गतको कुन गाउँ वस्तीमा को–को गर्भवती छन् र ती गर्भवतीले स्वास्थ्य जाँच गराइरहेका छन् कि छैनन्, त्यस स्वास्थ्य संस्थाअन्तर्गत मातृ मृत्युको बढी जोखिममा परेका गर्भवती महिला कति छन्, ती गर्भवतीको सुत्केरी हुने अनुमानित मिति र त्यसका लागि आवश्यक तयारी जस्ता विवरणहहरु तत्कालै हेर्न सकिनेछ । त्यसले स्वास्थ्य संस्थाहरुलाई समेत सेवा दिनको लागि तयारी अवस्थामा राख्न सहयोग पुग्नेछ ।

 

प्रतिक्रिया