कर्णालीका आमाहरुको बाध्यता, छोरी भएपनि छोराकै आस
सुर्खेत – परिर्वतित नाम कालिकोटकि मनमाया बुढा यहि चैत्र २० गते भारतबाट नेपाल फर्किनुभयो । केही समय अघि उहाँ र उहाँका श्रीमान सँगै रोजगारीका लागि भारत जानुभएको थियो । चैत्र २० उनी एक्लै नेपाल फर्कनुभयो । उहाँकोे उद्धेश्य थियो पेटमा छोरा वा छोरी जाँच गर्ने । र जाँच गर्दा छोरी भेटिए गर्भपतन गर्ने । भारतबाट नेपालगन्ज पुगेकि उनी अस्पताल खोज्दै अस्पताल पुग्नुभयो । छोरा वा छोरी भनेर जाँच्नका लागि डाक्टर कहाँ पुग्नुभयो ।
डाक्टरले जाँच्नका लागि श्रीमान सँगै हुनुपर्ने बताउनुभयो । तर, श्रीमान साथमा नभएको बताएपछि डाक्टरले मानेनन् । श्रीमान नभएछि नहुने भन्दै डाक्टरले बाहिर पठाए । त्यसपछि सुर्खेत पुगिन् मनमाया । सुर्खेत पुगेर दिदि भिनाको घरमा पुगिन् । र नेपालगन्जको सम्पुर्ण घटना उहाँले सुनाउनुभयो । पहिलो सन्तान छोरी भएकाले दोस्रो सन्तान छोरा जन्माउने उहाँको र उहाँका श्रीमान, दिदि भिना लगायत सबै घरपरिवारको इच्छा छोराको थियो ।
अन्तितमा केही बिकल्प केही नभेटिएपछि भिनाजुलाई श्रीमान बनाएर सुर्खेत स्थित नर्सिङ होममा उहाँ पुग्नुभयो । जाँच भयो । गर्भमा छोरि रहेछन् । निराश हुँदै त्यो दिन उहाँ र उहाँका भिनाजु घर फर्किनुभयो । फेरी अर्को दिन सोही नर्सिङ होममा पुगेर छोरी नै भएपछि उहाँले लिङ्ग पहिचान गरेर गर्भपतन गराउनुभयो । ‘श्रीमान र परिवारलाई छोरी चाहिएको छैन । एक छोरी एक छोरा बनाउने इच्छा घर परिवारको छ । भारतमा चेक गर्न नपाएपछि यसकै लागि नेपाल आएकि हुँ ति महिलाले भन्नुभयो ।’
परिवारको मञ्जुरी बेगर गर्भपतनका लागि केही आमाहरू यस्ता नर्सिङ होम जान डराउँछन् त केही आमाहरु भने छोेराकै आसमा छोरी त्यग्न बाध्य हुन्छन् । भने केही आमाहरु परिवारको निर्देशन भएमा चुपचाप पालना गर्ने गरेको चिकित्सकहरुको भनाई छ । ‘कर्णालीका ग्रामीण भेगमा दुई तीनवटा छोरी पाउने आमाहरूको दुःखको कुनै लेखाजोखा हुँदैन’ उहाँले भन्नुभयो, ‘परिवारको निर्देशन नमाने वैवाहिक जीवनसमेत प्रभावित हुनसक्ने खतराले पनि छोराको आशमा चुपचाप गर्भपतन गराउन आमाहरू राजी हुन्छन् ।
छोराकै आशमा सात छोरी, छोराकै आश
छोराकाकै आसमा कही यस्तो सम्म पनि अवस्था छ कि छोरा नपाउन्जेलसम्म आमा मेसिन झै बच्चा जन्माइरहनुपर्ने अवस्था पनि कर्णाली मै प्रस्त भेटिन्छ । छोराकै आसमा आठ देखि दश वटा छोरी हुँदा समेत सम्म छोराकै आशमा छोरी जन्माइरहनुपर्ने हुन्छ । जस्ले गर्दा छोरीहरु कुपोषित हुने, जन्मजात अपाङ्ग हुने समस्या बढी छ ।’
छोरो नजन्माउने आमाले कस्तोसम्म हैरानी खेप्नुपर्छ भन्ने उदाहरण हुन्, दैलेखकोे ठाटीकाँध गाउँपालिका २ कि ४५ वर्षिया (परिवर्तित नाम) पानसरा । लगातार सात वटी छोरीलाई जन्म दिएकी पानसरा र उनका श्रीमानको छोरा पाउने धोको मरेन । छोरी जन्माइ रहिनन् । आठौँमा छोरा पाएपछि अहिले यो दम्पतिले अन्य सातवटा छोरी नदेखेको स्थानीय लालबिर बिक बताउनुहुन्छ ।
पहिले छोरा नपाउदाा छोराकै आसमा सात वटा छोरी जन्माए,’उहाँले भन्नुभयो,‘छोरा नपाउदा साझ बिहान मानसिंहकि श्रीमतीले पाउन सम्म गाली पाई, कहिले नसुनेका बचन पनि पाई । छोरा पाउन्या आसमै ७ वटा छोरी जन्माइसक्यापछि अहिले एउटा छोरो पायाको छ । छोरो पाउदा अन्य सातवटी छोरीलाई आँखा देख्याका छैनन् त्यहीका श्रीमान श्रीमतीले । अहिले कुल थाम्न्या छोरो भयो भनेर दुबै खुशी भयाका छन् ।’
यि र यस्ता घटना प्रतिनिधि घटना मात्र हुन् । छोरा भएन भनेर अर्को बिहे गर्ने घटना पनि बढ्दो अवस्थामा छन् । कर्णालीका दुर्गम ग्रामिण भेगहरु छोरा जन्माउन नसके अबुतो भनेर हेला गर्नेसम्मका दुव्र्यवहार सहदै आउनुपर्ने कालिकोट कि परिवर्तित नाम (जशु) बताउनुहुन्छ । पहिले दुइवटा वटि छोेरी जन्माए । तर, पनि गाउँमा हिड्यो भने अपुतोका श्रीमान श्रीमति भनेर कुरा काट्न कम भएन । ‘त्यति सम्म हुँदा गर्दा पनि नभएपछि श्रीमानले अर्की श्रीमती बिहे गरे । अर्कीबाट अहिले एउटा छोरा भएको छ । ‘छोरा जन्माउन नसक्ने भन्दै अहिले पनि श्रीमानसँग मेरो सम्बन्ध राम्रो छैन’ उहाँले भन्नुभयो । कर्णाली प्रदेशका दुर्गम भेगहरूमा गैरकानुनी हुँदाहुँदै पनि बहुविवाह रोकिएको छैन ।
जाजरकोटको नलगाड नगरपालिका–८,की एक ४५ वर्षीया महिलाले पनि छोराको चाहनामा पटक–पटक गर्भपतन गराइन् । चार छोरीलाई जन्मदिएकी उहाँले छोरा जन्माउने चाहनामा लिङ्ग पहिचान गरी छोरी भएको थाहा पाएपछि गर्भपतन गर्नुभएको थियो ।
गाउँमा साहुबाट ऋण काढेर सुर्खेतमा गर्भपतन गराएकी उहाँको झण्डै ज्यान गएन । गर्भपतनपछि अत्यधिक रक्तस्राव हुँदा नेपालगञ्ज लगेर उहाँकोे उपचार गरियो । ‘मेरो श्रीमान एउटै छोरा हुन । वंश बचाउन छोरा नै चाहिन्छ भन्ने सासू–ससुराको दबाव थियो । सासूको दबावमा श्रीमानले पनि छोरा चाहिन्छ भन्नुभयोे’ उहाँले भन्नुभयो, ‘छोराकै आशमा ५ वटा छोरी जन्मिए । थप छोरी जन्माएर पनि के गर्नु भनेर गर्भपतन गराएँ । मेरो दुःखको त हिसाबकिताबै छैन ।छोरा पाउन नसेकेको भन्दै अहिले पनि बेलाबखत विभिनन बचन सुन्नुपर्छ ।’
कर्णाली प्रदेशका पहाडी जिल्लाका हुने–खाने महिलाले नेपालगञ्ज र भारतका निजी अस्पतालहरूमा पुगेर लिङ्ग पहिचान गर्ने र गर्भपतन गराउने गर्छन् । भारतको रुपैडिया, नेपालगञ्ज र सुर्खेतका केही निजी अस्पताल र नर्सिङ होमहरूमा लिङ्ग पहिचान र गर्भपतन गराउने गरिन्छ । त्यो माथिका उदाहरणले पनि यो पुष्टि हुन्छ । कोही पाँच सातवटा छोरी हुँदा हुँदै पनि छोराकै आस हुन्छ भने केहीको पाँच वटा छोरी भए पनि छोरा जन्माउने आसले लिङ्ग पहिचान गर्दा छोरी भेटिएपछि गर्भपतन गर्ने गरेको माथिका घटनाले स्पष्ट पार्छ ।
मुलुकका अन्यत्र ठाउँ झैं कर्णालीका ग्रामीण भेगमा पनि छोराप्रतिको लालसा बढी नै छ । परिणाम, लिङ्ग परीक्षण गरी छोरी देखिएमा गर्भपतन गराउने प्रवृत्ति आम रूपमा छ । यो क्रम अहिले शहरी क्षेत्रमा पनि बढ्दो छ । लिङ्ग परीक्षण र छोरी भए गर्भपतन गराउनेहरू भित्रभित्रै बढिरहेको चिकित्सकहरू बताउँछन् ।
‘सामान्यतया यहाँका मान्छेहरू यहीं गर्भपतन गराउँदैनन् । तर, नेपालगञ्ज र भारतका विभिन्न निजी अस्पतालहरूमा पुगेर लिङ्ग परीक्षण र छोरी भए गर्भपतन गराउने क्रम बढ्दो रहेको कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ललितजंग शाही बताउनुहुन्छ ।
महिला अधिकारकर्मी तथा आवाज संस्था सुर्खेतकी निर्देशक पवित्रा शाही यसलाई कहालीलाग्दो अवस्था भएको बताउनुहुन्छ । उहाँका अनुसार, छोरा नभए सौता व्यहोर्नुपर्ने, घरपरिवार र समाजबाट अपहेलित हुनुपर्ने लगायत बाध्यताले कर्णालीका महिलाहरूलाई गर्भपतन गर्न बाध्य पार्ने गरेको छ ।
यस बाहेक महिला र बच्चाको स्वास्थ्य अवस्था ख्याल गरेर कानुनतः अनुमति प्राप्त सुरक्षित गर्भपतन गराउनेहरूको संख्या पनि यहाँ बढ्दो छ । कर्णालीमा आर्थिक वर्ष २०७६/७७ मा ५ हजार २३५, २०७७/७८ मा ४ हजार ८८८ र २०७८/७९ मा ४ हजार ८६० जनाले सुरक्षित गर्भपतन गराएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । तथ्यांक अनुसार सुर्खेतमा सबैभन्दा धेरै गर्भपतन गराउने गरिएको छ ।
पुरानो सोच छोरा मोहका कारण गर्भमै ज्यान गुमाउदै छोरी
लिङ्ग पहिचान गरेर गरिने गर्भपतनमा श्रीमान्, परिवार र छोरीलाई विभेद गर्ने समाज दोषी रहेको अधिकारकर्मी शाही बताउनुहुन्छ । उहाँका अनुसार अहिले पनि महिलाले छोरा नजन्माए घरपरिवार र समाजबाट अपहेलित हुनुपर्छ, तिरस्कृत बन्नुपर्छ ।
छोरो मोह कतिसम्म छ भने, आठविसकोट नगरपालिका–७ की एक महिलालाई चौथो छोरी जन्मिएपछि घरपरिवारले दुहुनु भैंसी बेचेर पाँचौं गर्भको लिङ्ग पहिचान गर्न नेपालगञ्ज पु¥यायो । छोरी नै देखिएपछि भारतको रुपैडिया लगेर गर्भपतन गराएको उहाँले सुनाउनुभयो ।
‘छोरो नभए समाजले अपुतो भन्छ । वंश जोगाउन पनि छोरो चाहिन्छ भन्छन, तर यो पटक जँचाउँदा पनि गर्भमा छोरी रहिछ अनि गर्भपतन गराएर आएँ’, उहाँले भन्नुभएकोको थियो ।
लिङ्ग पहिचान गरेर गर्भपतन गराउनुको मुख्य कारण समाजको सोच रहेको मानवअधिकारकर्मी टीका विष्ट बताउनुहुन्छ । गर्भमा छोरा वा छोरी भएकै कारण पतन गर्नु गैरकानूनी र असामाजिक कार्य हो’, उहाँले भन्नुभयो, ‘खासमा अधिकांश आमालाई नै छोराको मोह हुन्छ । पितृसत्तात्मक सोच यतिविघ्न हावी छ कि समाजलाई छोरा नभई भएको छैन । अनि आमाहरू पनि छोरा चाहन्छन ।’
कानुनी रूपमा सुरक्षित गर्भपतनका सम्बन्धमा समाजलाई परामर्श दिनु जरूरी भएको जनाउँदै उहाँले सरकारले आम व्यक्तिमा छोराछोरी समान रहेको जागरण फैलाउनुपर्ने बताउनुभयो । उहाँ भननुहुन्छ, ‘समाजका धेरै विषयसँग लैङ्गकि भेदभाव जोडिन्छ । कुल थाम्न, बुवाआमाको काजक्रिया र श्राद्घ गर्न छोरा नै चाहिने भन्ने संस्कारले समेत धेरैजसो दम्पती छोराको चाहना राख्छन् ।’
अझै छोरीप्रति भेदभावपूर्ण बुझाइ, व्यवहार, संस्कृति, मूल्य र मान्यतामा छोरालाई बढी महत्व दिनुले छोरो–छोरीप्रतिको भेदभावलाई मलजल दिइरहेको उहाँ बताउनुहुन्छ । कानुनमा छोरा र छोरी बराबर भनिए पनि व्यवहारमा सम्पत्तिको रेखदेख छोराले नै गर्दै आएको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘अझै पनि अंश र वंशको मान्यता छोरालाई नै दिइएकोले छोरीहरू गर्भमै मर्छन ।’
नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ सातासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ ।
गर्भपतनले कानुनी मान्यता पाएकै कारण पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्या समाजमा बढ्दै गएको छ । लिंग पहिचान गरेर गर्भपतन गराउनु स्पष्टतः गैरकानुनी काम हो । तर, छोरा जन्माउन रुचि राख्नेहरूले लिङ्ग पहिचान गरेर छोरी भए गर्भपतन गराउने गर्दछन । यसले लैंगिक विभेद तथा सामाजिक असन्तुलन बढाउने भएकाले सरकारले नियन्त्रणका लागि लिंग पहिचान गर्न निषेध गरेको हो ।
प्रतिक्रिया