अशक्तहरुको कल्याणकारी कार्य गर्न लगानीमा कञ्जुस्याइँ छ : खत्री

अशक्तहरुको कल्याणकारी कार्य गर्न लगानीमा कञ्जुस्याइँ छ : खत्री

दैलेख – गैरसरकारी संस्था महासंघ दैलेखका जिल्ला अध्यक्ष महारुप खत्रीले संघीय संरचनापछि स्थानीय सरकारहरुले पिछडिएको समुदाय, अशक्त, असहाय, बालबालिका र ज्येष्ठ नागरिकहरुको कल्याणकारी कार्य गर्न लगानी कञ्जुस्याइँ गरेको बताउनुभएको छ ।

नेपाल नेत्रहीन संघ कर्णाली प्रदेश कार्यालयले दैलेखमा मंगलवार आयोजना गरेको क्षमता अभिबृद्धि तथा सीप विकास कार्यक्रम अन्तरगतको नेत्रहीन समस्या भोगिरहेका नागरिकका अभिभावकहरुको लागि अभिमुखीकरण कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

अध्यक्ष खत्रीले पहिलेका गाविस र नगरपालिकाहरुलाई पिछडिएको समुदाय, अशक्त, असहाय, बालबालिका र ज्येष्ठ नागरिकहरुको कल्याणकारी कार्य गर्न निश्चित बजेट बिनियोजन गर्ने गरेकोमा संघीय संरचनापछि कटौती गरेको आरोप लगाउनुभयो ।

त्यसबखत इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सुशासन र पारदर्शिताको खवरदारी गर्ने निकायहरुसंग अहिलेका स्थानीय सरकार सञ्चालकहरु पूर्वाग्रह राख्ने, नागरिक समाजको सुझावहरु बेवास्ता गर्ने गरेको उल्लेख गर्दै नेत्रहीन संघले दवाव बढाउन सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल नेत्रहीन संघ कर्णाली प्रदेश कार्यालयका सामाजिक परिचालक प्रेमप्रकाश खत्रीले स्थानीय सरकारसंग समन्वय गर्न चाहेको तर अपेक्षा गरेजस्तो सहयोग नपाएको गुनासो सुनाउनुभयो । उहाँले नेत्रहीनहरुको समस्या बारे नागरिक समाज संस्थाहरुको समन्वय र सहकार्यमा आवश्यक रहेको औल्याउनुभयो ।

नेपाल नेत्रहीन संघ दैलेख शाखाका अध्यक्ष ओमप्रकाश शर्माले नेत्रहीन संघ कर्णाली प्रदेश कार्यालय सुर्खेतले सञ्चालन गरेको क्षमता अभिबृद्धि तथा सीप विकास कार्यक्रममा नेत्रहीन समस्या भोगिरहेका नागरिकका अभिभावकहरुको सहयोग बढाउन अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुभयो ।

नेत्रहीन संघ कर्णाली प्रदेश कार्यालय सुर्खेतले सञ्चालन गरेको क्षमता अभिबृद्धि तथा सीप विकास कार्यक्रममा नेत्रहीन समस्या भोगिरहेका १० जनालाई १० दिने दालमोड बनाउने तालिम र ५ जनालाइ व्यवसाय सञ्चालन सम्वन्धी २ दिने आधारभूत तालिम दिने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया