जाजरकोटका स्थानीयले महंगो मुल्य तिरेर आयोडिनयूक्त नुन खान बाध्य

जाजरकोटका स्थानीयले महंगो मुल्य तिरेर आयोडिनयूक्त नुन खान बाध्य

जाजरकोट –  जाजरकोटका सात वटै स्थानीय तहका स्थानीयले महंगो मुल्य तिरेर आयोडिनयूक्त नुन खान बाध्य छन् । सरकारले अनुदान दिर्दै आएको नुनको मुल्य प्रति केजी ५० देखि ६० रुपैयाँ तिरेर स्थानीय खान बाध्य छन् । बारेकोट गाउँपालिका वडा नं ७ का स्थानीयले प्रति केजी ५० रुपैयाँ तिरेर आयोडिनयूक्त नुन खाईरहेको स्थानीय भक्तबहादुर शाहीले बताउनुभयो ।

‘यहाँ नुनको एक पोकालाई ५० रुपैयाँ पर्छ, नजिकै डिपो छैन्, उनले भने, ‘स्थानीय पसलहरु बाट किनेर ल्याउँछौं ।’ गाउँपालिका भित्रका जिरी, गोठगाउँ, स्याला, लुहाग, मुल्साम धुम, ताँसीका स्थानीयले प्रति केजी ४० देखि ५० रुपैयाँमा नुन किनेर खाईरहेका छन् । सरकारले प्रति केजी ९ देखि १० रुपैयाँमा दिएपनि स्थानीय व्यापारीले मनोमानी ढंगले बेच्ने गरेको पाईएको छ ।

यस्तै, जुनीचाँदे गाउँपालिकाका स्थानीय पनि प्रति केजी ५० रुपैयाँ मुल्य तिरेर खाईरहेको स्थानीय विजय बस्नेतले बताउनुभयो । ‘नुनको डिपोमा १० रुपैयाँ पर्छ’, उहाँले भन्नुभयो, ‘बाहिर व्यापारीहरुले ५० रुपैयाँमा बेचिरहेका छन् ।’ सरकारले अनुदानमा दिने आयोडिनयूक्त नुनको मुल्य जाजरकोटका सात वटै स्थानीय तहका फरकफरक देखिन्छ । जुनीचाँदे र बारेकोट गाउँपालिकामा ५०र५०, छेडागाड र नलगाडमा ४०/४०, कुशे र शिवालयमा ३०/३० र भेरी नगरपालिका भित्रै ३० रुपैयाँमा विक्री वितरण हुने गरेको छ ।

जाजरकोटमा छेडागाडको थलह, जुनीचाँदेको सानाखोला, भेरीको खलंगामा र नलगाड नगरपालिकामा दल्लीमा नुनको डिपो रहेको छ । स्थानीय व्यापारीहरुले डिपोका कर्मचारीहरु सँग मिलेर पसलमा खरिद गर्ने समेत स्थानीयले आरोप लगाएका छन् । जिल्लाका अधिकांश वडाहरु सडक सञ्जालमा जोडिएका छन् । सडक सञ्जाल जोडिएपनि ढुवानीका नाममा व्यापारीहरुले लुटतन्त्र मच्याईएका छन् । तर स्थानीय प्रशासन र स्थानीय तह र सम्बन्धीत वडा कार्यालयहरुले खासै चासो दिएका छैनन् ।

पसलले बेच्न पाउँदैनन् अनुदानको नुन

सरकारले अनुदान दिएको आयोडिनयूक्त नुन जथाभावी व्यापारीहरुले बेच्न पाउँदैनन् । तर जाजरकोटका अधिकांश पसलमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले उत्पादन गरेको नुन बजारमा पाईन्छ ।

सरकारले सम्बन्धित कार्यालयलाई मात्र वितरणका लागि पठाउँछ । तर यहाँका व्यापारीका पसलहरुमा उक्त नुन पाईन्छ । सरकारले अनुदान वितरण गरेपनि प्रभावकारी रुपमा अनुगमन नहुँदा व्यापारीहरुले अनुदानमा रचाई गरेका छन् । ढुवानीको नाम बेचेर व्यापारीहरु कमिशनको खेलमा लागेको स्थानीयको आरोप छ ।

नुनमा मुल्य बढेको छैन् : श्रेष्ठ

उपभोक्ताले चर्को मुल्यमा नुन उपभोग गरेपनि साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड जाजरकोटका शाखा प्रमुख भरत श्रेष्ठले नुनमा यसरी मुल्य नबढेको बताए । उहाँले भन्नुभयो, ‘मुल्य बढेको छ भनेर कतै बाट गुनासो आएको छैन, हामी केही दिनमा अनुगमन गछौ ।’ जाजरकोटमा जथाभावी कम्पनीले नुन वितरण नगरेको पनि श्रेष्ठले बताउनुभयो ।

जाजरकोटमा एक बर्षमा ४५ सय क्वीटल नुन खपत हुदै आएको छ । गत बर्ष ९ बजार जति नुन खपत भएपनि यो बर्ष घटेर ४५ सय मात्र आएको उनले बताए । ‘हामी यहाँ बुझ्ने काम मात्रै गर्छौं, उहाँले भन्नुभयो, ’सबै माथी बाट आउँछ, यहाँका डिपोहरुमा सिधैं कम्पनीले पठाउँछ ।’ व्यापारीहरुले आफ्नै परिवारहरुलाई प्रयोग गर्ने भनी सदस्यहरुले खरिद गर्ने गरेको पाईन्छ । अनुदानको नुनमा व्यापारीहरुले ठूलो फाईदा उठाउने गरेको स्थानीय बताउँछन् ।

यता, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द शर्माले आफु जाजरकोटमा भर्खरै आएको कुनै गुनासो नआएको बताउनुभयो । यदि यस्तो रहेछ भने केही दिनमा अनुगमन गर्ने समेत उनले बताए । सरकारले अनुदानमा दिने नुनमा समेत फाईदा उठाउनु निकै लाजमर्दो विषय भएको यहाँका स्थानीय बताउँछन् । बजार अनुगमन गरी डिपो बाटै नुन वितरण सबैभन्दा उत्तम हुन्छ ।-हाम्रो पहुँच

 

प्रतिक्रिया