प्रसूतिगृहमा खानेपानी र विद्युतको समस्या

प्रसूतिगृहमा खानेपानी र विद्युतको समस्या

सिमकोट – अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा वर्षौंदेखि स्थापना भएको प्रसूतिगृहमा खानेपानी र विद्युत् समस्या रहेको पाइएको छ। खानेपानीको ब्यवस्था प्रसूतिगृहमा नहुुनुु र विद्युत् जडान नगरिएका कारण स्वास्थ्यकर्मीले समस्या खेप्दै आएका हुन्।

प्रसूतिगृहकी एएनएम सुस्मिता फडेराले प्रसूतिगृहमा खानेपानी र विद्युत्को समस्या चर्को रुपमा भोग्नुुपरेको बताउनुभयो।

उहाँले प्रसूतिगृहमा विद्युत् जडान नहुनुु र सोलारको समेत व्यवस्था नभएपछि समस्या भोग्नुुपरेको जानकारी दिनुभयो।

गर्भवती महिला राति सुत्केरी गराउनुपरे मोबाइलबाट टर्च बालेर काम गर्नुपर्ने बाध्यता छ। कतिपय बेलाले स्वास्थ्यकर्मीको मोबाइलमा चार्ज सकिए सुत्केरी गराउने महिलाको आफन्तलाई टर्च लाइटको व्यवस्था गर्न लगाउनुुपर्ने बाध्यता छ।

गाउँपालिकालाई विद्युत् लाइन र विकल्पमा सोलारको व्यवस्था गर्न पटक–पटक माग गरिए पनि समस्या समाधान हुन नसकेको हो।

त्यस्तै, प्रसूतिगृहमा खानेपानीको समेत उस्तै समस्या छ। प्रसूतिगृहका काम गर्ने स्वास्थ्यकर्मीले धारा जडानका लागि पटक–पटक माग गरिए पनि त्यो समस्या समाधान हुन सकेको छैन।

तीन सय लिटरमा दुुई वटा ड्रममा अन्यत्रबाट कार्यालय सहयोगीले पानी बोकेर ल्याई भर्ने गरिएको र त्यो पानी प्रसूतिगृहका लागि पर्याप्त नभएको कार्यालयले जनाएको छ। यस सम्बन्धमा बुझ्दा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघना शाहीले गाउँपालिका केन्द्रमा खानेपानीको समस्या भएको कारण प्रसूतिगृहमा पानीको ब्यवस्था गर्न नसकिएको बताउनुभयो ।

त्यसैगरी विद्युत् पनि जडान नगरिएको भन्दै उनले अब चाँडै गाउँपालिकाले प्रसूतिगृहमा खानेपाली र विद्युत्को व्यवस्था गरिने बताउनुभयो ।

प्रतिक्रिया