पानीका मुहान सुक्दा खानेपानीको हाहाकार

पानीका मुहान सुक्दा खानेपानीको हाहाकार

सल्यान-  गर्मी याम लागेसँगै सल्यानका अधिकांश स्थानमा पानीका मुहान सुक्दा खानेपानीको हाहाकार हुन थालेको छ । भएका मुहान सुक्दै जानु र निर्माण भएका लिफ्ट योजनाहरू अलपत्र पर्दा जिल्लाका अधिकांश स्थानीय अड्कली अड्कली तिर्खा मेटाउन बाध्य हुने गरेका छन् ।

एक गाग्री पानीका लागि डेढ घण्टाभन्दा बढी समय हिँड्नु पर्ने बाध्यता रहेको बनगाड कुपिण्डे नगरपालिका १२ निगालचुलाकी दिलमाया खत्रीको भनाई छ । २०६६ सालमा निर्माण भएको लिफ्ट खानेपानीको मोटर बिग्रिएपछि चार वर्षदेखि खानेपानीको लागि सास्ती व्यर्होदै आइरहेको उहाँको भनाई छ । उहाँले भन्नु भयो सोलरबाट गाउँमा पानी आएपछि खानेपानी अभावका दिन गए भनेर मक्ख भएका थियौँ । तर त्यो खुसी धेरै वर्ष टिक्दै टिकेन ।

पानीको अभाव हुँदा बस्तुभाउ तथा सरसफाइ भन्दा पनि परिवारलाई समेत पानी अड्कलेर दिनु पर्ने बाध्यता रहेको स्थानीय ममता खड्काले बताउनु भयो । माझ खर्कका ५३ र चौरका गरी १ सय १० भन्दा बढी घरपरिवारले खानेपानीको समस्या भोग्दै आइरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेका छन् । खानेपानीको व्यवस्था गर्न स्थानीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको उहाँको गुनासो रहेको छ ।

यस्तै कालीमाटी गाउँपालिकाको कोछट्टे, सुनटाकुरा लगायतका क्षेत्रमा पनि खानेपानीको हाहाकार हुने गरेको छ । वर्षाको समयमा रसाउने मुहानहरू सक्नथालेपछि घटौँ लगाएर पानी ल्याउनु पर्ने बाध्यता रहेको कालीमाटी गाउँपालिका २ की निर्मला रोकाले बताउनुभयो ।

यस्तै शारदा नगरपालिका १४ र १५ लाई लक्षित गरी निर्माण सुरु गरिएको बृहत् लिफ्ट खानेपानी योजना ढिलाइ हुँदा दुई वडाका ७ सय बढी घरपरिवार खानेपानीको समस्या झेल्दै आइरहेका छन् । योजना सम्पन्न नहुँदा एक घण्टा टाढाबाट पानी बोक्नु पर्ने बाध्यता रहेको कमला वि।कले बताउनुभयो ।

एक घण्टा हिँडेर मुहानमा पनि फेरी दुई तीन घण्टा लाइनमा बस्नु पर्ने उहाँको भनाई छ । उहाँले भन्नु भयो एक दुई घण्टा हिँडेर कुवामा पालो आयत हुन्थ्यो नि राती जो पहिले पुग्यो उसैको पालो पहिले आउँछ । ढिला पुग्नेको त दुई तीन घण्टा पछि नै पालो आउँछ ।

विश्व बैङ्कको ११ करोड लगानीमा बृहत् खानेपानी आयोजनाको सम्पन्न मिति दुई महिना मात्र बाँकी हुँदा ७० प्रतिशत पनि काम सम्पन्न हुन सकेको छैन ।

प्रतिक्रिया