चितवन–२ बाट रास्वपाका सभापति लामिछाने दोस्रो पटक विजयी

चितवन–२ बाट रास्वपाका सभापति लामिछाने दोस्रो पटक विजयी

काठमाडौँ –   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी हुने निश्चित भएको छ । यसअघि मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी हुने भएका हुन् ।

लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । मतगणना अन्तिमतिर पुग्दै गर्दा लामिछानेले ५० हजार २०५ मत पाइसकेका छन् । हालसम्म ७१ हजार ७०६ मत गणना हुँदा लामिछानेले निकटतम प्रतिद्वन्द्वीले भन्दा पाँच गुणा भन्दा बढी मत पाएका हुन् ।

चितवन २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतदानमा ७८ हजार २७७ मत खसेकामा अब ६ हजार ५७१ मतमात्रै गन्न बाँकी रहेको छ । अब बाँकी मत गणना गरेर निर्वाचन अधिकृतको कार्यालयले लामिछानेलाई विजयी घोषणा गर्नेछ । उद्योग वाणिज्य संघको हलमा जारी मतगणना अन्तिमतिर पुगेसँगै रास्वपाका नेता कार्यकर्ता भेला हुन थालेका छन् ।

मतगणनामा लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरिसकेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए ।

नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गएपनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो । उपनिर्वाचनबाट रास्वपाले तनहुँ १ मा समेत विजय हासिल गरेसँगै संसदमा उसको एक सिट थपिने भएको छ ।

प्रतिक्रिया