मानव अधिकारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
कालिकोट – तिलागुफा नगरपालिका–१० रानावाडाका ७० वर्षीय खाम्मा रानाले ०७९ चैत्र ६ गते एक १४ वर्षीया अपाङ्गगता भएकी बालिका बलात्कार घटनाको उजागर गरेको आरोपमा आरोपितका आफन्तबाट स्थानीय मानव अधिकार रक्षक कुटिएको विषयलाई लिएर जिल्ला स्थित मानव अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कालिकोटमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बालिका बलात्कार घटनाका वारेमा प्रहरीलाई खवर गरेको आरोपमा उनका भतिजा नाता पर्ने जयलाल रानाले तिलागुफा नगरपालिका–७ निवासी मानव अधिकार रक्षक एवम नागरिक समाज तिलागुफाका संयोजक बिक्रम शाही सदस्य सरिता शाही र दुर्ग वहादुर शाहीलाई वैशाख ११ गते कुटिपिट गरी घाइते बनाउनुका साथै कार्यालयमा रहेको प्रिन्टर, ट्याबलेट र कम्प्युटर तोडफोड गरेका थिए ।
कुटपिटमा संलग्न रानालाई कानुनी कारवाही गरी अधिकारकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न र तोडफोड गरिएको सामग्रीको क्षतिपूर्तिका लागि जिल्लामा क्रियाशिल मानव अधिकारकर्मी,पत्रकार,नागरिक समाजका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी समक्ष वैशाख १२ गते ध्यानाकर्षणपत्रे बुझाएका हुन् ।
बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेश उपाध्यक्ष तुलाराम पाण्डे, इन्सेक जिल्ला प्रतिनिधि एवम नागरिक कार्य समुहका संयोजक कालीबहादुर मल्ल, महिला अधिकारकर्मी कविता चापागाई, नेपाल पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष नमराज योगी, बालअधिकारकर्मी बाले विश्वकर्मा, मानव अधिकार रक्षक सञ्जालका संयोजक डिल्लीप्रसाद चौँलागाँई लगायत २२ जना अधिकारकर्मीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी माझी र प्रहरी प्रमुख डिएसपी जयश्वर रिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।
अधिकारकर्मीहरुद्धारा संयुक्त हस्तक्षरित ध्यानाकर्षणपत्रमा नेपालको संबिधान २०७२ को धारा ३९, बालबालिकासम्बन्धी ऐन २०७५, मुलुकी अपराध संहिता २०७४ ले बालबालिका विरुद्धको कसुरको रुपमा रहेको बलात्कार जस्तो घटनालाई लुकाएर राख्ने, पैसा लेनदेनमा मिलाउने, उल्टै पीडित सुस्त मनस्थितिकी अपांगता भएकी बालिकाको घरपरिवार र बालअधिकारकर्मी माथिको आक्रमणको विरोध गर्दछौ भन्ने उल्लेख छ ।
साथै ध्यानाकर्षणपत्रमा अपाङ्गगता तथा अति जोखिममा रहेकी बालिकामाथिको यो अमानवीय घटनाको निन्दा गर्दै अवोध बालिकामाथि हुने यस्ता खालका हिंसाहरुलाई कानुनी तथा सामाजिक अपराधको रुपमा सिंगो राष्ट्रले स्वीकार गरिसकेकोे अवस्थामा यस किसिमको घटना हुनु दुःखद र निन्दनीय भएको भन्दै घटनाको सत्यतथ्य छानवीन गरी पीडकलाई हदैसम्मको कानुनी कारवाही गर्न माग पनि गरिएको छ ।-इन्सेकअनलाइन
प्रतिक्रिया