कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिदै

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिदै

सुर्खेत –   कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार तेस्रो पटक विश्वासको मत लिँदै छन्। दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेश सभाको वैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा सदनमा उपस्थिति जनाउने छ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीले अब नयाँ गठबन्धनको साझेदार दल नेपाली कांग्रेसँग मिलेर सरकार चलाउनेछ। मन्त्रिमण्डल विस्तारका विषयमा नेपाली कांग्रेससँग छलफल भइरहेको मुख्यमन्त्री शर्माले बताउनुभएको छ । शर्मा पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

यता, प्रदेश सभाका विभिन्न चार समितिले शुक्रबार पूर्णता पाउने भएका छन् । प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार सदनमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र प्रदेश मामिला समितिमा रहने सदस्यको नामावली सदनमा रहेका दलले सचिवालयमा बुझाइसकेका छन् ।

‘उहाँहरूले दलबाट प्रतिनिधित्व हुने गरी चारवटै समितिका लागि सांसदको नाम पठाइसक्नु भएको छ’ सचिव बुढाथोकीले भन्नुभयो, ‘आज बस्ने प्रदेश सभा बैठकमा सभामुखज्यूले नाम पढेर सुनाउनु हुन्छ। त्यसपछि समितिले पूर्णता पाउँछ।’

आज समितिले पूर्णता पाए पनि समितिको अध्यक्षको निर्वाचन भने पछि हुने उहाँको भनाइ छ। ‘अहिले समितिको ज्येष्ठ सदस्यले समितिको अध्यक्षता ग्रहण गर्नेछन्।’ उहाँले भन्नुभयो, ‘त्यसपछि समितिले निर्वाचन प्रक्रिया अघि बढाएर अध्यक्ष चयन गर्नेछन्। अब समिति नै बनेको छैन भन्ने गुनासो भने रहँदैन।’

प्रतिक्रिया