डोल्पामा प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार आरसी
सुर्खेत- जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले विना कारण प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । उनले शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई कुटपिट गरेका हुन् ।
जिल्ला कारागार डोल्पामा कार्यरत सल्यान सिद्धकुमाख गाँउपालिका-३ घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ । थप उपचारका लागि उनलाई नेपालगञ्ज पठाउन लागिएको छ ।
‘बिदाको दिन म साथीहरूसँग बसेर रमाइलो गरिरहेको थिएँ, इन्स्पेक्टर साबले बोलाउनु भयो, म विशेष काम परेको होला भनेर मादक पदार्थ सेवन गरेको भएपनि उहाँलाई भेट्न गएँ, तर उहाँले मलाई एक्कासि कुटपिट गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘कुटपिटबाट मेरो बाँया आँखामा ठूलो चोट लागेको छ, हेर्न पनि गाह्रो भइरहेको छ । नाकमा चोट लागेको छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले आफू कार्यालय बाहिर रहेकाले घटनाबारेमा विस्तृत थाहा नभएको बताउँदै अनुसन्धान भइरहेको बताउनुभयो। अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने पनि बताउनुभयो ।
प्रतिक्रिया