जिल्लामै ब्लड बैङ्क छैन, रक्तदाताकै भर

जिल्लामै ब्लड बैङ्क छैन, रक्तदाताकै भर

रुकुम –  अप्रेसन गरेर बच्चा जन्माउँदा होस् या रक्तस्राव हुँदा होस् त्यस बेला रगतको आवश्यकता पर्दछ । यसका साथै कुनै गम्भीर प्रकृतिको दुर्घटना भएपछि अस्पताल पुर्याउँदा समेत रगत आवश्यक पर्ने हुन्छ । तर, रुकुमपूर्वमै रक्त सञ्चार केन्द्र अर्थात ब्लड बैङ्क नहुँदा बिरामीलाई समस्या हुने गरेको छ ।

अप्रेसन गरेर बच्चा जन्माउन सक्ने सुविधा जिल्ला अस्पतालमा भए पनि रगतको अभावमा बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रही आएको अस्पतालका सूचना अधिकारी प्रेमप्रसाद उपाध्यायले बताउनुभयो । “सुत्केरी हुन आउने महिलामध्ये केहीको अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने हुन्छ । तर, रगतको अभावमा उहाँहरूलाई समेत अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको छ” सूचना अधिकारी उपाध्यायले भन्नुभयो, “रगतको सुनिश्चितता नहुँदा सम्म अप्रेसन गर्न निकै चुनौतीपुर्ण हुने गरेको छ ।”

जिल्ला अस्पतालमा मात्र नभई जिल्लामै रक्तसञ्चार केन्द्र नभएकै कारण सेवाग्राहीले समस्या भोग्नु परिरहेको भूमे गाउँपालिका(७ का लालसरी रोका मगरले बताउनुभयो । जिल्लामा ब्लड बैङ्क नहुँदा बिरामी तथा आफन्तले लामो समय देखि सास्ती भोग्नुपरेको रोका मगरले सुनाउनुभयो ।

जिल्ला स्थित सरोकारवाला र नेपाल रेडक्रस सोसाइटीसँग ब्लड बैङ्क स्थापनाको लागि छलफल भइरहेको अस्पतालका सूचना अधिकारी उपाध्यायले बताउनुभयो । “रगत अभावले जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुको विकल्प छैन” उहाँले भन्नुभयो (“यद्यपी बिरामीको अवस्थालाई हेरेर अस्पतालमा सेना, प्रहरी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी एवम् अरु व्यक्तिबाट रगतको पूर्ति भइरहेको छ ।” रक्तदाता जुटेको भरमा रगत आवश्यक पर्ने बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया