माओवादीको व्यवहारले मर्माहत भएका छौं : नेता नेपाल
सुर्खेत – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माओवादीको व्यवहारले मर्माहत भएको बताउनुभएको छ । सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहत भएको बताउनुभएको हो ।
‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’
खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाउनुभयो । कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालले चेतावनी समेत दिनुभयो ।
माओवादी अध्यक्ष प्रचण्ड, प्रदेशका नेताहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘ प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन ।’
उहाँले माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने बताउनुभयो । यस्तै खालका प्रवृत्तिहरु हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको उहाँको भनाइ छ ।
तर, उहाँले यो मर्मको पीडा मात्र भएको बताउँदै गठबन्धनप्रति शंका गर्नुपर्ने कुरा नरहेको बताउनुभयो । कर्णालीका कार्यकर्तालाई परेको पीडालाई समेत सम्बोधन गर्ने हिसाबले आफूले यो अभिव्यक्ति प्रकट गरेको उहाँको भनाइ छ ।
‘गठबन्धनप्रति शंका गर्नुपर्ने कुरा छैन । यहाँका कार्यकर्ताहरुलाई समेत परेको पीडालाई समेत सम्बोधन गर्ने हिसाबले प्रकट गरिहालें मैले,’ उहाँले भन्नुभयो, ‘प्रकट गरिसकेपछि पीडा र वेदना कति छ भन्ने कुरा बुझ्ने, मनलाई पनि शान्ति प्राप्ति हुने भएकाले यो प्रणालीबाट शान्ति प्राप्त गरी अब म काठमाडौंतर्फ प्रस्थान गर्ने छु ।’
प्रतिक्रिया