एमाले सचिव रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी

एमाले सचिव रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं –  काठमाडौं – ‘लोभले लाभ, लाभले विलाप’ उखान चरितार्थ भएको छ, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीको सन्दर्भमा । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उहाँहरु विरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उहाँका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी सन्दीपले एक करोडको चेक लिएको पाइएको स्रोतले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे जिल्ला प्रहरी परिसर टेकुमा बुधबार उपस्थित हुनु भएको छ । गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उहाँ आफैं प्रहरी कार्यालयमा उपस्थित हुनुभएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग रकम असुलेको गिरोहबाट आर्थिक लाभ लिएको पाइएपछि तत्कालीन गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि पूर्व गृहसचिव, रायमाझीका बाबु छोरा तानिनुभएको हो ।

बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई विरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको प्रहरी स्रोतको भनाइ छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग रकम लिएको विषयमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई डेढ महिना अघि १२ चैतमै पक्राउ गरिएको थियो ।

रकम असुल्ने कार्यमा पूर्व गृहमन्त्री एवम् एमाले उपाध्यक्ष बादल र एमाले सचिव रायमाझीसँग निकट सम्बन्ध भएका व्यक्तिहरु संलग्न भएको विषयमा प्रतिनिधिसभाको बैठकमै कुरा उठेको थियो । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा बैठकमा कुरा उठाउँदै छानबिनको माग गर्नुभएको थियो । त्यसप्रति एमाले प्रमुख सचेतक पदम गिरीले नियमापत्ति जनाउनुभएको थियो ।

प्रतिक्रिया