गर्भवती महिलालाई निःशुल्क भिडिओ एक्सरे सेवा

गर्भवती महिलालाई निःशुल्क भिडिओ एक्सरे सेवा

रुकुम पश्चिम –   रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका गर्भवती महिलाहरुले गाउँमै निःशुल्क भिडिओ एक्सरे सेवा पाउने भएका छन् । नगरपालिकाले नगरमा रहेका गर्भवती महिलाहरुलाई लक्षित गर्दै गाउँमै निःशुल्क भिडिओ एक्सरे सेवा दिने भएको हो । जसका लागि नगरपालिकाले ४ ठाउँ तोकेको छ ।

नगरपालिकाले नगर स्वास्थ्य तथा सामाजिक विकास शाखा मार्फत गर्भवती महिलाहरुलाई गाउँमै गएर निःशुल्क भिडिओ एक्सरे सेवा दिन लागेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिता थापाका अनुसार वैशाख २७ गते देखि वैशाख ३० गतेसम्म सेवा संचालन हुने छ ।

पहिलो दिन वडा नम्बर १४ को नुवाकोट स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिने छ । वैशाख २८ गते वडा नम्बर १४ कै शहरी स्वास्थ्य सेवा केन्द्र तिमिले, वैशाख २९ गते वडा नम्बर १२ को आधारभूत स्वास्थ्य सेवा केन्द्र र वैशाख ३० गते वडा नम्बर ६ को पुर्तिमकाँडा स्वास्थ्य चौकीबाट सेवा दिइने नगरपालिकाले जनाएको छ ।

विभिन्न कारणले भिडिओ एक्सरे गर्न छुटिरहेका गर्भवतीहरुलाई लक्षित गर्दै गाउँ गाउँमै निःशुल्क भिडिओ एक्सरे सेवा प्रदान गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो । नगरपालिकाले गाउँमै प्रदान हुन लागेको सेवा लिन सम्पूर्ण सेवाग्राही गर्भवती महिलाहरुलाई आग्रह गरेको छ । यसबाट मातृ र शिशु स्वास्थ्यमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया