प्रधानमन्त्रीले जेठ ४ गते संसदमा सांसदहरूसँग प्रश्नोत्तर गर्ने

प्रधानमन्त्रीले जेठ ४ गते संसदमा सांसदहरूसँग प्रश्नोत्तर गर्ने

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।

बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको बताउनुभयो ।

उहाँले संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताउनुभयो । ‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकुल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ । त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागि हुने तयारी हुँदैछ,’ उहाँले भन्नुभयो, ‘त्यो हुँदा संसदभित्र रहेका दलहरुको स्ट्रेन्थको आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्नेगरी समझदारी बनेको छ।’

त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताउनुभयो । सकेसम्म सोमबार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गर्नुभयो ।

संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने कुरा पनि उहाँले बताउनुभयो ।

‘अब चाँडै समितिको बैठक बसाउने कार्यव्यवस्था परामर्श समितिमा त्यो निर्णय भएको छ। सकेसम्म भोलि नै समितिका बैठक प्रारम्भ गर्ने। र जुन–जुन समितिमा विधेयक बसेका छन्। कमसेकम ति समितिका बैठक बसिहालौँ,’ लेखकले भन्नुभयो, ‘विधेयकमाथिको छलफल शुरु गरिहालौँ । सँगसँगै समितिको नेतृत्वको चयनको कुरा अगाडी बढाउ भन्नेकुरा भएको छ। अब हामीले सुनुवाइ समिति पनि तत्काल बनाउनु जरुरी छ किनभने प्रधानन्यायाधीशको सिफारिस भइसकेको अवस्था छ।’

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरु प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरुले प्रश्न सोध्न पाउने पनि स्पष्ट पार्नुभयो ।

‘इच्छुक १५ जना सदस्यले प्रश्न सोध्न पाउने व्यवस्था छ। यसरी सोधिएको प्रश्नमा थप स्पष्टीकरण सोध्ने अभ्यास पनि छैन,’ उहाँले भन्नुभयो, ‘नियमावलीमा पनि त्यो व्यवस्था छैन। ३ दिन अगावै प्रधानमन्त्रीज्युलाई सोध्ने प्रश्न सभामुखज्युकोमा आइपुग्नुपर्छ। त्यसको सामान्य जानकारी प्रधानमन्त्रीज्युलाई गराइन्छ।’

उहाँले संसदीय समितिहरुको बैठक भोलि (सोमबार) नै बस्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया