यार्सागुम्बा टिप्न पाटन लागे स्थानीय

यार्सागुम्बा टिप्न पाटन लागे स्थानीय

मुगु –   मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि शुक्रबारदेखि वन प्रवेश खुला गरिएको छ ।

यार्सागुम्बा सङ्कलनका लागि जिल्लावासी र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई वन प्रवेश खुलाइएको हो । वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका सङ्कलनकर्ताले मात्र वन प्रवेश अनुमति पाउने प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताउनुभयो ।

यार्सागुम्बा सङ्कलनका लागि पाटन क्षेत्रमा प्रवेश गर्न आउनेमध्ये जिल्लाभित्रका सङ्कलकलाई प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाका प्रतिव्यक्ति दुई हजार पाँच सयका दरले कर गाउँपालिकाले तोकेकोे छ ।

गाउँपालिका–१ र २ मा पर्ने वन तथा पाटन क्षेत्र रिमाड, ठूलो कुइकी, सानो कुइकी, च्यार्खुलेख, छापाखोला र टाँकेमा बढी यार्सागुम्बा पाइन्छ । यार्सागुम्बा सङ्कलनका लागि जिल्लाभरिका बासिन्दाका साथै छिमेकी जिल्ला जुम्ला, कालीकोट, बाजुरा, हुम्लाबाट पनि सयौँ मानिस आउने गरेका छन् ।

विगत दुई वर्षयता कोरानाले गर्दा कर्णालीवासीलगायत मुगालीको बर्सेनि खर्चको स्रोतका रूपमा रहेको यार्सागुम्बा सङ्कलन तथा बिक्री बन्द भएकाले स्थानीयवासीले आर्थिक समस्या झेल्दै आएका थिए । चीनसँग जोडिएको नाक्चेलाग्ना नाका नेपाल सरकारले पूर्णरुपमा खोल्न प्रयास नगर्दा सङ्कलक तथा व्यापारीले समयमै यार्साको उचित मूल्य पाउन सकिरहेका छैनन् ।

एक महिनासम्म यार्सा सङ्कलन गरे पनि सङ्कलक तथा व्यापारीले साउन महिनाको अन्तिम सातादेखि चीनबाट ह्याजिमारमा लाग्ने हाटबजार नखोल्दासम्म पर्खनुपर्ने बाध्यता छ ।

उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, छिनछिनमा परिरहने हिउँ र चिसोका कारण बर्सेनि पाटन क्षेत्रमा दर्जन बढीको मृत्यु हुने भएकाले यो वर्षदेखि गाँउपालिकाले कर तिरेर वनक्षेत्रमा प्रवेश गर्ने सङ्कलक दुर्घटनामा परे उपचार र मुत्यु भए परिवारलाई राहत पुगोस् भनेर यार्सा बीमा गरिदिएको छ भने पाटन क्षेत्रमा कुनै दुर्घटना भए समय मै उद्धार, आपराधिक समूहलाई नियन्त्रण गर्न विगत वर्षभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

यो याममा मुगुका गाउँगाउँबाट तन्नेरी उमेरदेखि ६० वर्षसम्मका सबै यार्सागुम्बा टिप्न पाटन क्षेत्रतिर जाँदा गाउँघरमा बालबालिका र ज्येष्ठ नागरिक मात्र देखिने गर्दछन् । पाटनमा पाइने यार्सागुम्बा तीन गुणस्तरका हुने भएकाले तिनलाई छुट्याउन एक, दुई र तीन नम्बरका भन्ने गरिन्छ । यो वर्ष पाटनमा एक नम्बरका लागि सात सय, दुई नम्बरका लागि चार सय र तीन नम्बरका लागि दुई सय मूल्य तोकिएको स्थानीय यार्सा व्यापारी र्छोतेन लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो मूल्य पाटनमा यार्सा सङ्कलकबाट खरिद गर्दा पर्ने मूल्य हो, यहाँबाट व्यापारीले काठमाडौँ, पोखरा, नेपालगञ्ज र दोस्रो देशतिर पु¥याउँदा कति मूल्यमा बिक्री गर्छन् त्यो आफूहरुलाई थाहा हुँदैन ।’

पाटनमा यार्सा सङ्कलन गर्न पुगेका सङ्कलकले सङ्कलन अवधि ९एक महिना०भित्र यार्सा सङ्कलनबाट न्यूनतम एक लाखदेखि पाँच लाखसम्म कमाउने गरेका छन् ।-रासस

प्रतिक्रिया