प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ अर्थिक वर्षको बजेट पास गरेर छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक छिमेकी मुलुक भारतको भ्रमणमा जान लागेका हुन्। तर भ्रमणको औपचारिक निर्णय भने भइसकेको छैन। प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणका लागि नयाँ दिल्ली जाने गरी परराष्ट्रमन्त्रालयले तयारी थालेको छ ।

यसका लागि परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरुसँग परामर्श गरेका थिए। त्यस्तै शुक्रबार पूर्वपरराष्ट्रमन्त्रीहरुसँग उनले प्रधानमन्त्रीको भ्रमणका एजेन्डालाई लिएर संवाद गरेका छन् ।

उनले व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धसहितका एजेन्डामा छलफल गरेका हुन्।

एकजना उपप्रधानमन्त्रीनिकट स्रोतले जेठ १७ बाट प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ।‘बजेट पारित गरेर प्रधानमन्त्रीज्यू जेठ १७ गते नयाँ दिल्ली जाने तयारी भइरहेको छ। २० गतेसम्म भ्रमण हुन्छ,’ स्रोतले भने, ‘भ्रमणका क्रममा नयाँ दिल्लीबाहिरको अर्को सहर पनि जाने सम्भावना छ।’

तर, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति औपचारिक रुपमा तय भइनसकेको जनाएको छ।‘प्रधानमन्त्रीज्यू भारत भ्रमणमा जाने कुरा त छ, तर डेट फिक्स भइसकेको छैन,’ परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले भन्नुभयो ।

प्रतिक्रिया